बर्दिया । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं.-३ बालकुमारी अन्तर्गत रहेका नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय धनौरा, जनचेतना आधारभूत प्राथमिक बिद्यालय, खाताका सामुदायिक बिद्यालय र जन आधार प्रथामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई बर्दिया मधुवन वडा नं ३ का अध्यक्ष नारायण मल्लको समन्वय र नेत्रित्वमा पोशाक वितरण गरिएको छ ।
कार्यक्रममा कक्षा १ देखि ५ सम्मका ४१६ जना बालबालिकालाई स्कुल पोशाक वितरण गरिएको हो । सामुदायिक बिद्यालयमा पढ्ने विपन्न वर्गका सम्पूर्ण बिद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।
धेरै बिद्यार्थीहरुले पोशाक नभएका कारण हिनताबोध गर्ने र स्कुल नआउने समस्याको समाधान स्वरुप बिद्यार्थीहरुलाई प्रोत्साहन होस् भन्ने हेतुले पोशाक वितरण गरिएको वडा नंवर ३ का अध्यक्ष नारायण मल्लले बताउनुभयो । उहाँले नेपाल कागजसंग कुरा गर्दै भन्नुभयो, "हाम्रा देशका कर्णधार हुन यि बालबालिका, यिनको सुनौलो भविष्यकोलागी हामीले सहयोग साथ दिँदै शिक्षाको गुणस्तर बढाउन संघर्षरत छौँ ।"
उहाँले अगाडि थप्दै भन्नुभयो, 'धेरै बिद्यार्थीहरुको परिवार विपन्न वर्गका रहेकाले हामीले उनिहरुको शिक्षाको स्तरलाई बढाउने तिर आगामी दिनमा अँझै कृयाशिल हुँदै सुरुवात पोशाक वितरणबाट गरेका छौँ ।"
त्यस्तै मधुवन नगरपालिकाका प्रशासकिय अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथी ओमकार शाहले शिक्षाको गुणस्तर बढाउन यहाँका शिक्षक र शिक्षिका धेरै महत्त्वपूर्ण भुमिका रहेकोको भन्दै अँजै गुणस्तरीय रुपमा काम गरेर बिद्यार्थीहरुको उज्वल भविष्यको लागि लागिपर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, "शिक्षाको गुणस्तर बढाउन शिक्षकको अहम भूमिका हुने भएकोले अँझै सकृय भएर शिक्षकहरुले बिद्यार्थीको भविष्य बनाउन लाग्नुपर्छ ।"
वडा नंवर ३ मधुवन नगरपालिकाको पहिलो वडा हो जस्ले सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका प्रशासकीय अधिकृत ओमकार शाह, अतिथिहरुमा ने.रा.मा.बि. धनौराका प्रधानाध्यापक चन्द्रबहादुर खत्री, जनचेतना प्रथामिक बिद्यालयका प्रधानाध्यापक जया चौधरी, जन आधार प्रथामिक बिद्यालयका प्रधानाध्यापक उमेश चौधरी, वडा सदस्यहरुमा लक्ष्मी सुनार, होम बहादुर चौधरी, रामप्यारी चौधरी, लौटन दास थारु लगायत बिद्यार्थी र अभिभावकको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन मधुवन नगरपालिका वडा नं।-३ का वडा सचीव कल्याण तिमील्सिनाले गर्नुभएको थियो ।