मुलुकभर रहेका आफुलाई प्रजातन्त्रको हिमायती भन्ने मुलधारका राजनीतिक दलको नेतृत्व चयनका लागि वडा अधिवेशन देखि केन्द्रीय अधिवेशनसम्म आ-आफ्ना गुट उपगुटको विजय पराजयका लागि हानथाप चलिरहेको बेला पुर्व पन्चका रुपमा परिचित राष्ट्रिय प्रजातन्त्र पार्टीले भने पार्टी भित्रै लोकतान्त्रिक अभ्यासको माध्यमद्वारा नयाँ नेतृत्व चयन गरेको छ ।
अझ स्मरणीय त सो पार्टीको एकता महाधिवेशनको रुपमा उल्लेखित भेलाले पूर्ण प्रजातान्त्रिक तवरले शान्तिपूर्ण जनअभिमतद्वारा युवापुस्तामा नेतृत्व सुम्पिएको छ । र त्यो नेतृत्व ५६ बर्षिय झापाका राजेन्द्र राजेन्द्र लिङ्देनलाई गएको छ ।
२०७४ को संसदीय आमनिर्वाचनमा नेपालि कांग्रेसका चर्चित नेता कृष्ण प्रसाद सिटौलालाई पराजित गरि चर्चामा आएका स्वच्छ छवि,सादा जीवन, स्पष्ट र प्रखर वक्ताका रुपमा परिचित राजेन्द्र लिङ्देन आम युवाका बिच अत्यन्त लोकप्रिय नेताका रुपमा रहनुभएको छ । र यस पटकको महाधिवेशनमा पार्टीका पुराना नेता कमल थापालाई हराई नेतृत्वमा पुग्नुभएको छ ।
आफु विजय भएसंगै आम कार्यकर्तालाई फुल माला र अबिर सहितको विजय उत्सव नगरिदिन आह्वान गर्दै सबै पार्टी कार्यकर्तालाई एकै झन्डामा गोलबद्द हुन अपिल गर्नुभएको थियो । उक्त अपिलले आमकार्यकर्तालाई हौसला मात्र दिएको छैन, यसले पच्छिल्लो कालमा तिन चिरामा विभक्त पार्टीको नेतृत्व लिएका कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकास चन्द्र लोहनीको नेतृत्वमा अलमल परेका आम कार्यकर्तालाई एकताबद्ध र हौसला दिएर पार्टीमा नवजीवन भरेको छ । साथै सधै पार्टी नेतृत्वमा लोभीपापी र अवसरको खोजि गर्ने, सत्तामा र्र्याल काड्ने देश र जनताको लागि माखो नमार्ने कमल थापा प्रवृतिलाई गतिलो सवक समेत सिकाएको छ ।
राप्रपा महाधिवेशबाट आएको परिणाम र अभ्यासलाई देशका अन्य दलले समेत आत्मसात गर्नु आवश्यक छ । प्रजातान्त्रिक पार्टीका रुपमा स्थापित मुख्य गरि नेपाली कांग्रेस, एमाले, माओबादी लगायतका दल भित्र आन्तरिक प्रजातन्त्र र युवा नेतृत्वको आवाज पटक पटक उठ्ने गरेता पनि त्यस तर्फ नत युवा नेतृत्वले शसक्त आवाज दिन सकेको देखिन्छ भने पुराना नेतृत्वकर्ताहरु पनि पार्टी नेतृत्व र सत्ताको गुलियो चास्नीबाट टाढा हुन नचाहेको प्रष्ट देखिन्छ । यसले पार्टीगत रुपमा र राष्ट्रिय राजनीतिमा असल प्रजातन्त्रको अभ्यासलाई कमजोर बनाएको छ । शासनको मियो राजनीति प्रति आम धारणा नकारात्मक हुन गएको छ । र हालसम्म भएका राजनैतिक परिवर्तनलाई संस्थागत गरि सुशासन, बिकास र सम्वृद्धिको आम चाहनालाई गति दिन नसकिएको तितो यथार्थता रहेको छ ।
२०७४ को आम निर्वाचन लगतै एकताबद्ध भएका एमाले र माओबादी बीचको पार्टी एकीकरणले छरिएर रहेका अन्य दललाई समेत एक हुन नैतिक दवाव दिइरहेको अबस्थामा ति दुई बिचको एकताले लामो समय लिन नसकी टुक्रिएर पूर्ववत अबस्थामा पुग्नुले समग्रह राष्ट्रिय राजनीतिमा तरंग ल्याइदिएको अबस्था छ ।
मुलधारका राजनीतिक दल मध्ये नेकपा एमालेको हालै चितवनमा भएको महाधिवेसनबाट पुन:के.पी ओली नेतृत्वमा पुगिसकेको सन्दर्भमा युवा नेतृत्वको आशा नरहेको भएता पनि अन्य दलले आगामी महाधिवेशनबाट युवा नेतृत्व चयनको साहस गर्न सक्नु पर्दछ । मुलधारका सबै पुराना नेतृत्वकर्ता पटक पटक राष्ट्रिय राजनीतिको परिक्षामा असफल भैसकेको सन्दर्भमा अबको आशा र भरोसा नयाँ युवा पुस्ता देखिएकोले यस तर्फ ध्यान जानुपर्ने देखिन्छ ।