बाँके (नेपालगन्ज) । बाँकेमा सुर्तीको प्याकेट भित्र लुकाएर ल्याउँदै गरेको लागूऔषध 'खैरो हेरोइन' सहित एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्युरोको साखा कार्यालय बाँकेबाट खटेका सादा पोशाकका प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-१८ बस्ने २४ वर्षीय शुसान्त शाहीलाई ४ ग्राम ३९० मिलिग्राम लागूऔषध 'खैरो हेरोइन' (ब्राउन सुगर) सहित पक्राउ गरेको हो ।
बाँकेको नेपाल भारत खुला सिमा रहेको रुपैडिया भन्ने भारतिय बजारबाट खरिद गरि नेपाल ल्याउँदै गर्दा गोप्य सुचनाको आधारमा पक्राउ गर्न सफल भएको लागूऔषध अनुसन्धान व्युरोका एक अधिकारीले जानकारी दिए ।
उनले भने, " सुपर पावर सुर्तिको खोस्टा भित्र राखेर ल्याएको रहेछ, गोप्य सुचनाको आधारमा खानतलासी गर्दा पक्राउ गर्न सफल भयौँ । यो नाकाबाट लागूऔषध काठमाडौँं, पोखरा, बर्दिया, विशेष गरि दाङ र सुर्खेत तिर युजर(खाने) र डिलर(कारोबार गर्ने) ले लिएर जान्छन । युवा पुस्ता नै यो नशाको सिकार भएको अवस्था छ । हामिले सक्दो नियन्त्रण गर्ने कोसिस गरेका छौँ तर कारोबारीहरुले विभिन्न उपाय लगाएर नेपाल लिएर आउँछन ।"
हाल बाँके, बर्दिया लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको ती अधिकारीले बताए ।
भारतिय बजारमा १ ग्रामको ३ हजार ५ सय सम्म पर्ने लागूऔषध खैरो हेरोइन काठमाडौँ पुर्याएमा १० देखि १५ हजार सम्ममा बिक्रीवितरण हुने नाम नखोल्ने शर्तमा एक प्रहरीले बताए ।
सिमा नाकामा चुस्त दुरुस्त रुपमा स्थानिय प्रहरीले सक्रियता देखाउन नसक्दा अवैध ओसारपसार बढेको ती प्रहरीले बताए ।
उनले भने, "हाम्रै सहकर्मी प्रहरी इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायव निरिक्षक (सइ) मीनबहादुर बिष्टले सक्रिय रुपमा काम गर्न नसक्दा सिमा जस्तो संबेदनसिल क्षेत्र लथालिंग भएको छ ।"
अहिले बाँकेमा तस्करी र भन्सारछली बढेको स्थानियहरुको भनाइ छ । सर्वसाधारणलाई भारतको रुपैडियाबाट सामान ल्याउँदा कडाइ गरेर काम गरेको देखाउने तर भित्र भित्र सेटिङमा बैकल्पिक नाकाबाट तस्करीमा इप्रका जमुनाहका केही प्रहरीले साथ दिने गरेको एक स्थानिय ब्यापारीले दाबी गरे ।
सुर्तीको प्याकेट भित्र लुकाएर ल्याउँदै गरेको लागूऔषध 'खैरो हेरोइन' सहित पक्राउ परेका शुसान्त शाहीलाई ४ ग्राम ३९० मिलिग्राम लागूऔषध 'खैरो हेरोइन' (ब्राउन सुगर) सहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।