कोभिड-१९ को परिक्षण तथा उपचार सम्वन्धमा स्वास्थ्य कार्यालय, बर्दियाको अनुरोध
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले एक अपिल जारी गरेको छ । स्वास्थ्य कार्यालय बर्दियाले अपिल जारी गर्दै कोभिड-१९ को लक्षणसंग मिल्दोजुल्दो लक्षण भएका विरामीहरुले स्वास्थ्य परीक्षण नगराई डाक्टरको सिफारिस बिना जथाभावी रुपमा मनोमानी ढंगले औषधी पसल तथा क्लिनिकमा गई ज्वरो, रुघाखोकी लगायतका औषधीहरु खाने गरेकोमा गुनासो प्राप्त भएकाले त्यस्ता कार्यहरु नगर्न नगराउन सबैमा अनुरोध गरेको छ ।
हेर्नुहोस् जिल्ला स्वास्थ्य कार्यालयले गरेको अपिल
यस वर्दिया जिल्लामा कोभिड-१९को महामारी शुरु भएयता हालसम्म ३२८८ जना पोजेटिभ संक्रमित छ्न भने १७७६ जना निको भएका छ्न। ९६ जनाको दुःखद निधन भइसकेको छ भने दोस्रो लहर भएयता मात्र ७७ जनाको निधन भै सकेको छ। कोभिड-१९ का सक्रिय संक्रमित १४३५ जना मध्ये अस्पतालमा ११० जना उपचाररत छन् ।
संक्रमण तथा मृत्यूदर तीब्रगतिमा बृद्धिहुनुमा कोभिड-१९ को लक्षणसंग मिल्दोजुल्दो लक्षण भएका विरामीहरुले स्वास्थ्य परीक्षण नगराई मनोमानीढंगले औषधी पसल तथा क्लिनिकमा गई ज्वरो, रुघाखोकी लगायतका औषधीहरु माग्ने तथा औषधी पसललेहरुले डाक्टरको सिफारिस बिना जथाभावी रुपमा औषधीहरु दिनेगरेको एवम् विरामी जटिल अवस्थामा पुगेपछी मात्र अस्पतालमा प्रेषण गर्ने गरेका भन्ने गुनासो प्राप्त भएकाले तपसिल बमोजिम गर्नु गराउनुहुन सरोकारवाला सबैमा अनुरोध छ ।
स्वास्थ्य क्लिनिक/औषधी पसलहरुले देहाय बमोजिम गर्ने
कोभिड-१९ को लक्षण भएका औषधी पसल/क्लिनिक संचालकहरुले आफ्नो कोभिड परीक्षण नगराई पसल नखोल्ने ।
डाक्टरको सिफारिस पत्रका आधारमा मात्र औषधी उपलब्ध गराउने वा चेकजाँच गरेर मात्र औषधी दिने ।
रुघाखोकी लागेको र ज्वरी आएको विरामीलाई तत्काल कोभिड-१९ को परीक्षण गर्न परामर्श दिने ।
बिरामीहरुले देहाय बमोजिम गर्ने
कोभिड-१९ को लक्षण भएका व्यक्तिले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखि परामर्श बमोजिम चेकजाँच गराउने ।
कोभिड-१९ को परीक्षणको नतिजा नआउदासम्म छुट्टै होम आईसोलेशनमा वसि संक्रमणको फैलावट रोक्न सहयोग गर्ने।
चिकित्सकले सिफारिस गरेका औषधीहरु मात्र सेवन गर्ने ।
यस जिल्लामा सम्पूर्ण कानूनी प्रकृया पुरा नगरी क्लिनिक तथा औषधी पसल खोलिएको भए सोको यथाशीघ्र स्वास्थ्य कार्यालय बर्दियामा जानकारी दिनुहुन अनुरोध छ ।