नेपालगन्ज । गृहमन्त्री रामबहादुर थापा बादल सांसदबाट पदमुक्त भएका छन् ।
माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रहेका बादललाई कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले रिक्त भएको जानकारी गराएका हुन् ।
सांसद पदमा नरहेपछि उनको मन्त्री पद पनि गुमेको छ । तर,सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था रहेको छ । उनले मन्त्रीका लागि पुनः शपथ लिनुपर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई गृहसहित उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन् । माओवादी केन्द्रबाट आएका नेताहरुलाई प्रधानमन्त्रीले उच्च प्राथमिकता दिँदै आएका छन् ।
यसअघि पनि माओवादी केन्द्रले ओली सरकारमा मन्त्री रहेका चार जना सांसदलाई कारबाही गरेको थियो । सांसद नरहेका चार मन्त्रीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री पदमा नियुक्त गरेका थिए ।
हाल प्रधानमन्त्री कार्यालय हेर्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेल रहेका छन् । पुर्व माओवादीबाट एमाले प्रवेश गरेकाहरुलाई पनि एमालेमा संरक्षण गर्ने उदेश्यका साथ बादललाई उपप्रधानमन्त्री बनाउने तयारी भएको स्रोतले जानकारी दियो ।
थापाले नेकपाभित्र अन्र्तसंघर्ष उत्कर्षमा भएको बेला प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए । त्यसपछि पार्टी विभाजन हुंदा उनि एमालेमा प्रवेश गरको थिए । गृहमन्त्री थापा हाल नेकपा एमालेको वाग्मती प्रदेशको इन्चार्ज समेत छन् ।
प्रतिनिधिसभाको चुनावमा चितवन क्षेत्र नम्बर २ बाट चुनावमा उम्मेदवार बन्ने तयारीमा रहेका थापालाई नेकपाका तत्कालिन अध्यक्ष पुष्पकमल दाहालले रोकेका थिए । पछि उनलाई राष्ट्रियसभा सदस्य हुंदै गृहमन्त्री बनाइएको थियो ।
गृहमन्त्री थापा माओवादी विभाजन नहुंदै पार्टीको महासचिव थिए । पछि माओवादी अध्यक्ष प्रचण्डले शान्तिप्रक्रियापछि पार्टीमा प्रवेश गरेका नारायणकाजी श्रेष्ठलाई च्यापेपछि बादलसंग उनको विस्तारै दुरी बढेको थियो ।