काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित हुनुभएको छ । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गर्नुभएको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले साे निर्णय गरेकाे हाे ।
पाण्डेले विवेकशील साझा पार्टी सुदृढीकरण अभियानका नाममा हिजो २०१ सदस्यीय केन्द्रीय समिति घोषणा गर्नुभएको थियो । यसलाई पार्टी विभाजनको प्रयासका रुपमा लिएर संस्थापन पक्षले पाण्डेलाई निश्काशित गरेको हो । पार्टीको संयोजक पदमा रहनुभएका पाण्डेको कार्यकारी अधिकार भने यसअघि नै खोसिएको थियो ।
पाण्डेलाई कारबाही गरिएको जानकारी गराइएको पत्रमा लेखिएको छ, "विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईँले पार्टीलाई गम्भीर क्षति पु¥याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मङ्सिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार तपाईँसँग पुष ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण (च. सं. ५०१) माग गरिएको विदितै छ ।"
त्यस्तै उक्त पत्रमा पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी गराइएको लेखिएको छ ।
हेर्नुहोस पाण्डेलाई कारबाही गरिएको जानकारी गराइएको पत्रमा यस्तो लेखिएको छ ।
मितिः ६ पुस २०७८, मंगलबार
श्री मिलन पाण्डे,
काठमाडौं ।
विषयः पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको बारे ।
विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईँले पार्टीलाई गम्भीर क्षति पु¥याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मङ्सिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार तपाईँसँग पुष ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण (च. सं. ५०१) माग गरिएको विदितै छ ।
पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईँको स्पष्टीकरणमा तपाईँसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ ।
तपाईँले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ ।
अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुष ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईँलाई आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।
तपाइँले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ ।