काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका एक दम्पतीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले जग्गा हिनामिना प्रकरणका 'मुख्य योजनाकार' ५६ वर्षीय रामकुमार सुवेदीलाई कमलादीबाट र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदीलाई ताहाचलबाट पक्राउ गरेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उनीहरु ललिता निवास प्रकरणका मुख्य ठेकेदार (विचौलीमा) रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको छ ।
उनीहरुलगायत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । पक्राउपछि अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएकोमा पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । । यसअघिको सिआइबीको अनुसन्धानले उनीहरुसहित ४०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
सुवेदी वि.सं २०५० सालअघि लेखनदासका रूपमा चिनिन्थे । त्यही क्रममा पञ्चायतकालमै सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको ललिता निवासको जग्गा तत्कालीन भोगाधिकारी रहेका सुवर्णशम्शेरका नातेदारसँग मिलेर व्यक्तिको नाममा ल्याउन सुवेदी बिचौलियाको भूमिका खेलेका थिए । त्यसपछि तत्कालीन भोगाधिकारीसँगै मिलेर सरकारी जग्गा व्यक्तिको नाममा ल्याएपछि सस्तोमा खरिद गरी प्लटिङ गरेका थिए ।
२०४९, २०६२, २०६६ /६७ र २०६९ गरी चारवटा सरकारका पालामा करिब १३६ रोपनीभन्दा बढी जग्गा हडपिएको सीआईबीको अनुसन्धानबाट खुलेको छ । अहिले पनि सुवेदी र उनकी पत्नी माधवी भाटभाटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, अर्का बिचौलिया शोभाकान्त ढकालसहित दर्जनौं व्यक्तिका नाममा जग्गा छ ।