मध्ये पौष बढ्दै जादा देशभर जाडोको मात्रा पनि बढ्दै गएको छ । यसले तराईमा शितलहर, पहाडमा बाक्लो हुस्सुसंगैको तुसारो र हिमाली क्षेत्रमा हिमपातको अवस्था देखिएको छ । जसका कारण बिहान र बेलुकामा तिनै क्षेत्रको जनजीवन प्रभावित हुन गएकोछ । त्यसो त अधिकांश हिमाली जिल्लाका बासिन्दा न्यानोको खोजीमा पहाड र तराई झरेको पाइन्छ ।
जाडो मौसममा मान्छेका दैनिक रोजी रोटीको पेशालाई पनि थोर बहुत असर पुग्ने गर्दछ । छोटो दिन त्यसमा पनि साझ बिहानको कठ्यांग्रिने जाडोका कारण पेशा व्यवसायलाई असर हुन्छ नै त्यसमा पनि हुँदा खाने बर्गलाई यो जाडोले अझ बढी सताउने गरेको पाइन्छ । त्यसै कारण नागरिकको अभिभावकीय दायित्व रहेको सरकारले यसमा ध्यान दिन आवश्यक छ र हुने वर्ग मात्र होइन गरिब दुखि बर्गका लागि समेत सरकारको अनुभूति दिन यो आवश्यक पनि रहन्छ ।
त्यसै पनि जाडो मौसम रुघा खोकी लगायतका मौसमी फ्लु एवं अन्य संक्रामक रोगको प्रकोप बढी हुने मौसम हो । अझ बिगत लामो समय देखि विश्वभर महामारीको रुपमा बिभिन्न स्वरुपमा देखिएको कोभिड संक्रमणका कारण जाडो मौसम बढी जोखिम युक्त रहदै आएको छ । र हाल युरोप लगायत एशियालि मुलुक र हाम्रै छिमेकी देश भारतमा समेत केहि दिन यता देखिएको बढ्दो संक्रमणले यो मौसम थप जोखिम युक्त देखिएको छ ।
त्यसैले बढ्दो जाडोबाट र कोभिड संक्रमणको न्यूनीकरणबाट सुरक्षित रहन सरकारी स्तर र जनस्तर दुवै लागिपर्नु आवश्यक छ । त्यसका लागि जनताको सबै भन्दा नजिकको स्थानीय सरकार अझ बढी जिम्मेवार हुनु आवश्यक छ । त्यो किनपनि भन्दा आफ्ना नागरिकलाई सबै भन्दा नजिकबाट बुझेको जानेको र तत्काल सेवा दिन सहज हुने कारणले पनि स्थानीय सरकार सजग र क्रियाशील हुनु पर्दछ । तथापि प्रदेश र संघिय सरकारको जिम्मेवारी हुदै होइन भनेको कदापी होइन ।
जाडो मौसममा मुख्य त हिमाली जिल्लामा उच्च हिमपातको जोखिम र तराईमा शितलहरको अत्यधिक सम्भावनाका कारण अझ बढी जोखिम क्षेत्रका रुपमा रहेको हुन्छ । साथै त्यहाको जनताको आर्थिक अबस्था तुलनात्मक रुपमा न्यून रहेका कारण पनि पोसिलो खानपान र न्यानो तातोको जोहो गर्न नसक्नुले थप जोखिम पूर्ण रहेको हुन्छ ।
त्यस अर्थमा पनि कमजोर बर्गको सुरक्षा दायित्व सरकारमा जाने हुँदा जनताको जिउ ज्यानको रक्षा गर्ने संबैधानिक दायित्वलाई तिनै तहको सरकारले प्राथमिकता दिनु पर्दछ । र नागरिक पनि आफुलाई सुरक्षित हुने तरिकाले खानपान र न्यानो रहने प्रयासमा लागि पर्नु पर्छ । बिगत बर्षका घटना परिघटनाबाट पाठ सिखी यस बर्ष पनि स्थानीय सरकारल, प्रहरी -प्रशासन समेतको समवन्यममा राहातका कार्यक्रम तत्काल जारि गर्नु पर्दछ ।