काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ४३५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले १० हजार २६७ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म पाँच हजार २२५ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो समय थप २३९ जना कोरोनाबाट निको भएर घर फर्किएका उहाँले बताउनुभयो । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार १७६ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै प्रवक्ता डा मिश्राले पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट कसैको पनि निधन नभएको जानकारी दिनुभयो । अहिलेसम्म ११ हजार ६०१ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । उहाँका अनुसार ५०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् ।
यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । नेपालमा सङ्क्रमण दर १७ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा चार हजार ८५२, संस्थागत आइसोलेशनमा ३७३, आइसियुमा ८४ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको छ ।
साढे दुई लाखले खोप लगाए
मन्त्रालयका प्रवक्ता डा मिश्राले आज दुई लाख ४६ हजार ३८५ जनाले खोप लगाएको जानकारी दिनुभयो । अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा एक करोड ४७ लाख १७ हजार २२६ जना र पूर्ण मात्रा एक करोड आठ लाख चार हजार ४१३ जनाले लगाइसकेका छन् ।