बर्दिया । देशभरका प्रेस युनियनकर्मीलाई निर्वाचनको माहोल बनाउन नेपाली कांग्रेसका सह-महामन्त्री किशोर सिंह राठौरले आव्हान गर्नुभएको छ । उहाँले लोकतान्त्रिक पार्टी कांग्रेसको बिचार, नीति, सिद्धान्त र कार्यादेश बारे जनतालाई कलमद्वारा सुसूचित गर्न आव्हान गर्नुभयो ।
राठौरले कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरुलाई लोकतान्त्रिक पार्टी कांग्रेसले जनताकोलागी गरेका काम, विकास र हकहितको बारेमा जनतालाई बोध हुने गरि लेख्न प्रेरित गर्नुभयो ।
राठौरले भन्नुभयो, "नेपाली कांग्रेस पार्टी त्याग र बलिदानबाट बनेको पार्टी हो । राष्ट्र बनाउने अभियानमा, नेपाली कांग्रेस बनाउने अभियानमा सम्पुर्ण देशभरीका प्रेस न्युनियनका साथीहरूलाई लाग्न अनुरोध गर्न चाहन्छु। तपाईंहरुको कलमले जनताहरुमा चेतना ल्याउन सक्छ । जनताले नबुझेका कुराहरु तपाईंहरुले बुझाउन सक्नुहुन्छ । त्यो अभियानमा प्रेस युनियनले अहम भुमिका खेलोस ।"
लोकतान्त्रिक पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनमा हाल मुलुकभरका ७ हजार ४ सय भन्दा वढी पत्रकार आवद्ध छन् ।
२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरुको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रुपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै स्थापना भएको प्रेस युनियनमा आवद्ध श्रमजीवी पत्रकारहरुले लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भुमिका निभाउने पार्टीको बारेमा जन-जनमा सचेतना फैलाउनु पर्नेमा राठौरले जोड दिनुभयो ।
नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, महिला संघ लगायतका संघ-संगठनलाई आगामी हुने निर्वाचनमा लाग्न निर्देशन दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य डा.गोपाल दहित, जुबेदा खातुन, नेपाली कांग्रेस मधुवन नगरपालिका सभापति डम्बरबहादुर के.सी., नेपाली कांग्रेस मधुवन उप-सभापति अनिता चौधरी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रेस युनियन बर्दियाका सभापति बिनय राज भण्डारी, युनियनका सचिव दुर्गा आचार्य, पत्रकार महासंघ बर्दियाका पुर्व-सचिव कृष्ण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै नेपाली कांग्रेस मधुवन नगरपालिकाका सभापति डम्बरबहादुर के.सी. ले आन्तरिक प्रतिस्पर्धा स्वरुप भएको अधिवेशन सकिए पछि हरेक वडाहरुमा भएका विजेता र उपविजेतालाई एक ढिक्का भइ मधुवन नगरपालिकालाई कांग्रेसमय बनाउन लाग्नु पर्ने बताउनुभयो ।