बर्दियामा शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको खुलासा, गुपचुप घटना मिलाउन बिचौलिया सक्रिय
बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नंवर-७मा रहेको शुक्र माद्यामिक विद्यालयका शिक्षकले आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको खुलासा भएको छ । उक्त विद्यालयका शिक्षक नरेश मल्लले आइतबार, पुस २५, २०७८ गते बिहान करिब ६ बजे ट्युसन कक्षामा यौनजन्य दुर्व्यवहार गरेको खुलासा भएको हो ।
स्रोतका अनुसार सो घटना मिलाउन "बिचौलिया"हरुले पीडित छात्राको परीवारलाई दबाब दिएका छन । १५ वर्षिय छात्राले आज बिहान बुधबार, पुस २८, २०७८ गते ताराताल प्रहरी चौकिमा निबेदन दिएकी थिइन । तर चर्को दबाब पछि उक्त निबेदन बिहानै पीडित बालिकाको आमाले फिर्ता लिएको स्रोतले जनाएको छ ।
आरोपित शिक्षक नरेश मल्ल फरार रहेका छन भने आइतबार, पुस २५, गते घटेको घटना गुपचुप राखिएको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी ईश्वर कार्कीले घटनाको अनुसन्धान सुरु भएको र थप विवरण बुझ्न पीडित बालिकालाई जिल्ला प्रहरी कार्यालय ल्याइदै गरेको जानकारी दिनुभयो ।
विद्यालयकी प्रधानाध्यापक एलिजा जिसीसंग फोन संपर्क गर्दा आफु मिटिङमा भएको बताउनुभयो । केही समय पछि पटक पटक संपर्क गर्दा फोन उठेन ।
नयाँ मुलुकी अपराध संहिताको दफा २२४ मा यौन दुर्व्यवहार हुने १० अवस्था उल्लेख छ-
कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मन्जुरी बिना करणीका आशयले समातेमा
निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा,
निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा,
निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधाअवरोध गरेमा
निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा,
यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा,
निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक वा लिखित वा सांकेतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा,
अश्लील चित्र वा तस्वीर देखाएमा,
यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा
निजसँग अन्य अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुर्व्यवहार गरेको मानिनेछ ।
यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने नयाँ मुलुकी अपराध संहितामा उल्लेख छ।