कोभिडको बढ्दो संक्रमण र चाल्नु पर्ने रणनीति ।
केहि समय पश्चात विश्वबाटै अन्त हुने आम अपेक्षा बिपरित कोरोना भाइरसले पुन: नयाँ स्वरूप सहित तिब्रता बढाएसंगै थप मानवीय क्षति हुने आशंका बढाएको छ । केहि दिन यता युरोप, अमेरिका, अफ्रिका र हाम्रै छिमेकी देश भारतमा समेत फैलिएको संक्रमण दर डरलाग्दो गतिमा देखिएको छ । यसले हामीलाई पनि बिगतका अनुभव र अभ्यासबाट सिकेर थप रणनीतिका साथ जानुपर्ने अवस्था आएको छ ।
४/५ दिन बिचको संक्रमणको ग्राफलाई मात्र हेर्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ । यस् हप्ता शुरुमा दुई अंकमा देखिएको संक्रमण आज सम्म आइपुग्दा तीनहजार माथि पुगेको छ र यो बढ्ने क्रम जारि छ ।अत: तिनै तहका सरकारका बीच आपसमा समन्वय र सहकार्य गरि आ-आफ्ना संयन्त्रलाई सक्रिताका साथ परिचालन गर्न जरुरि छ । साथै आम जनमास पनि यस प्रति संवेदनशील रही स्वास्थ्य मापदण्ड सहित अत्यावश्यक काममा बाहेक घर बाहिर नजानु नै उत्तम हुन्छ । दैनिक बन्दव्यापार संचालन गर्दा समेत भिड भाड नहुने तरिकाले स्वास्थ्य मापदण्डको पालना गरि संचालन हुन जरुरि देखिन्छ ।
विश्वभर बढिरहेको कोरोना संक्रमणलाई नेपालमा भने भारतमा दैनिक करिव दुई लाखको संख्यामा बढेसंगै तिब्रता आउने अपेक्षा रहेकोमा नेपालका मुलधारका राजनीति दलका सभा सम्मेलन र अधिवेशनले थप सहयोग पुर्याएको छ । यसबाट भर्खर उठ्न थालेको अर्थतन्त्रमा फेरी बाधा पुग्ने निश्चित छ । यो पछिल्लो संक्रमणबाट अर्थतन्त्रका सबै क्षेत्र प्रभावित हुने अवस्थाले आम जनजीवनलाई समेत प्रत्यक्ष असर पुग्ने हुँदा त्यस तर्फ पनि थप रणनीतिका साथ राज्यका जिम्मेवार निकाय लागि पर्नु आवश्यक छ । अन्यथा कोरोना संक्रमणकै कारण राष्ट्रिय अर्थतन्त्र टाट पल्टिने अवस्था आउन सक्छ । त्यसका लागि तिनै तहका सरकार दैनिक जीवन यापनमा प्रभाव नपर्ने गरि स्वास्थ्य मापदण्डको पालनाका साथ पुजीगत खर्च बढाउने, दैनिक रोजगारीका काम गर्न बाधा नहुने गरि अगाडी बढ्नु आवश्यक छ |
कोरोना बढेसंगै रोजगारीका लागि भारतमा रहेका नेपालीहरु स्वदेश फर्कने संख्या अत्याधिक देखिएको सन्दर्भमा सिमा क्षेत्रमा थप सतर्कताका साथ परिक्षण दरलाई बढाउन र आइसोलेसनको प्रबन्ध हुन आवश्यक छ । अन्यथा भोलिका दिनमा संक्रमणको दर नियन्त्रण बाहिर जाने अवस्था रहन सक्छ । कोभिड संक्रमण बढे संगै राज्यले सम्पूर्ण नागरिक सम्म कोरोना विरुद्धको भ्याक्सिन पुर्याउन जरुरी छ । वृद्ध-वृद्धा र दिर्घ रोगीका लागि अतिरिक्त भ्याक्सिन (बुस्टर डोज ) को पनि प्रबन्ध हुन आवश्यक छ ।
साथै लामो समय देखि निरन्तर फैली आएको कोभिड रोगको अन्त्य कहिले हुने हो निर्क्योल नभएको सन्दर्भमा राज्यका तिनै अंग चलायमान अर्थतन्त्रका साथ रोग विरुद्ध रणनीतिका साथ लागि पर्नु पर्ने आवश्यकता छ । अन्यथा अर्थतन्त्र नराम्रो संग ओरालो लाग्ने र संक्रामक रोग समेत नियन्त्रण बाहिर हुने अवस्था हुन सक्छ ।