विश्व भ्रमण गर्न मन छ
प्यारी कोरोना थाकेकी छैनौं तिमी अझै विश्व भ्रमण गरेर ?
मलाई पनि खुला आकाशमा विचरण गर्न मन छ ।
यो मास्क फालेर सुन्दर मेरा ओठहरु खोलेर मुस्कुराउँदै हिँड्न मन छ।
उ त्यो टल्किने हिमाल पारिको गाउँमा पुगेर ति शेर्पा दाजु भाउजुको रमाइलो गफ सुन्दै रमाउन मन छ ।
तिमि त घुमेर आएकी रहिछौ अफ्रिका, मलाई पनि फेरि एकपटक 'केप टाउन' घुम्न मन छ ।
ज्याज म्यूजिक सुन्दै, त्यो ठूलो इथियोपिअन एयरलाईन्सबाट ओर्लिएर कुनै अन्जान गाउँ बस्तीमा हराउदै हराउदै डुल्न मन छ ।
सडकमा नांगै धुङ्गै खेलिरहेका ति केटाकेटीहरुको 'ब्रोकन इंग्लिशमा' कथाहरू सुन्न मन छ ।
झुक्याउँदै आउँदी रहिछौ तिमी त ?
भर्खरै मात्रै एउटा सानो सुटकेस प्याक गरेकी थिए, फ्लाइट र ओएदर फोरकास्ट दिनदिनै हेर्दै थिए, एउटा सुन्दर, रोमाञ्चक,
उ त्यो पारी झपक्कै गुराँस फुल्ने ठाउँको यात्राको तयारीमा थिए,
फेरि घुम्दै घुम्दै फेरि आइछौ तिमी,भत्काई दियौ मेरो सुन्दर सपना, भन मैले तिम्रो के बिगारेकी थिए ?
अब त अत्ति भो प्यारी, तिमीलाई जस्तै मलाई नि विश्व भ्रमण गर्न मन छ ।
कोशिस नगरेकी हैन तिमीसँगै तिम्रै सुर तालमा हिँड्न नि,
भो ! नसकिने नै रैछ;
कहा म, ममता की खानी, कहा तिम्रो त शरीर भरी बिझाउने काँडा नै काँडा रैछ ।
भो ! अब त मुक्ति देऊ मलाई, सुध्रिने एक मौका देऊ,
अब स्वीकार गरे तिम्रो अस्तित्व, तिम्रो तागत,
यो पृथ्वी मेरो मात्र कहाँ हो र ? सबैको साझा घर रैछ ।
प्रकृति संरक्षण बिना मानवको अस्तित्व कहाँ सम्भव रैछ ?
फर्की जाऊ प्यारी तिमी अब त अत्ति भो,
यो मास्क फालेर, आफ्ना सुन्दर ओँठहरु खोलेर मलाई मुस्कुराउदै हिँड्न मन छ;
प्रकृतिका अनुपम छटाहरु पछ्याउँदै अनि विज्ञानका अद्वभुत रहस्यहरु खोतल्दै, तिमीलाई जस्तै मलाई नि
विश्व भ्रमण गर्न मन छ ।
अन्जु गौतम योगी
लेखक अन्जु गौतम योगी प्रशिक्षक, शिक्षक र अन्वेषक हुनुहुन्छ भने हाल उहाँ काठमाडौँ वर्ल्ड स्कुल भक्तपुरमा अध्यापनरत हुनुहुन्छ ।