बर्दिया । सोमबारदेखि मुलुकका विभिन्न जिल्लामा कोरोनाविरुद्धको बुस्टर डोज खोप दिन सुरु भएसंगै बर्दियामा पनि कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ । संघीय सरकारमार्फत प्राप्त खोप प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा गत असारअगाडि दोस्रो मात्राको खोप लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज दिन सुरु गरिएको हो । केही प्रदेशमा खोप नपुगेर बुस्टर अभियान सुरु नभएतापनी बर्दियामा कोरोनाविरुद्धको बुस्टर डोज खोप दिन सुरु गरिएको छ ।
तस्विर: जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाको भवनमा कोरोनाविरुद्धको बुस्टर डोज लगाइँदै
जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले कोरोनाविरुद्धको बुस्टर डोज भ्याक्सिन अभियान तिब्र गतीमा चलिरहेको जानकारी दिनुभयो । उहाँले बर्दियाका सबै पालिकाहरुसंगको समन्वयमा खोप अभियान चलिरहेको बताउनुभयो ।
तस्विर: जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी
जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार गत असार मसान्तसम्ममा कोभिड १९ विरुद्धको भ्याक्सिनको दोस्रो मात्रा लगाइसकेकाले मात्र बुस्टर डोज लगाउन सक्छन । अहिले दिइएको बुस्टर डोज कोभिशिल्ड भ्याक्सिनको रहेको उहाँले जानकारी दिनुभयो ।
यस अघि लगाएको भ्याक्सिन कोभिशिल्ड हो र दोस्रो मात्रा लगाएको कम्तीमा ६ महिना पुगेको छ भने बुस्टर डोज लगाउन सकिने उहाँले बताउनुभयो ।
त्यस्तै भेरोसेल खोप लगाएकाका लागि भने माघ १४ पछि बुस्टर डोज लगाइने स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक विनोदकुमार गिरीले बताउनुभयो । ६० वर्षमाथिका र दीर्घरोगी लगायत भेरोसेल खोप लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार अग्रपंक्तिमा खटिनेलाई माघ १४ पछि बुस्टर डोज लगाइने स्वास्थ्य निर्देशक गिरीले बताउनुभयो ।
लुम्बिनी प्रदेशमा १९ लाख ४२ हजार ५ सय ६३ जना लगभग ५२ प्रतिशत जनसंख्याले दोस्रो खोप लगाएका छन् । पहिलो खोपमात्र लगाउने ३१ लाख ५७ हजार २ सय ९७ जना छन् । प्रदेशका अधिकांश स्थानीय तहमा अहिले छुटेकालाई खोप लगाउने अभियान चलिरहेको छ । प्रदेशमा ४ लाख डोज खोप भण्डारणमा छ ।