बर्दिया । देशभर चिसो बढेसंगै बर्दियामा पनि अत्याधिक चिसो र शितलहर बढेको छ । चिसो र शितलहरबाट प्रत्यक्ष रुपमा प्रभावित भएका मुक्तकमैया तथा उहाँहरुका परिवारलाई न्यानो ब्ल्यांकेट (कम्बल) बितरण गरिएको छ । मधुवन नगरपालिकाका नगरप्रमुख (मेयर) गणेशबहादुर के.सी.(कृष्ण) ले वडा नं-३ का ९० घरधुरी मुक्त कमैयाहरुलाई जाडोबाट बच्न सहयोग मिलोस भनेर न्यानो ब्ल्यांकेट (कम्बल) वितरण गर्नुभएको हो ।
मुक्त कमैयाहरुलाई कम्बल वितरण गर्ने कार्यक्रममा नगरप्रमुख के.सी.(कृष्ण)ले दु:खमा परेका जनतालाई सहयोग गर्न पाएकोमा आफुलाई सन्तोष र आनन्द महसुश भएको बताउनुभयो । उहाँले भन्नुभयो, "दुखमा परेका, समस्यामा परेका आफ्नै दाजु-भाइ, दिदिबहिनी तथा आमा-बुवाहरुलाई सहयोग गर्न पाउँदा खुशी, सन्तोष र आनन्द महसुश भएको छ ।"
उहाँले यहाँँका जनताको पिडा र समस्यालाई आफुले अनुभुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, "मधुवन नगरपालिकाको करिब २२ किलोमीटर भारतीय सिमानासङ्ग जोडिएको छ । यो क्षेत्रमा वन्यजन्तुले धेरै दु:ख दिएको छ, मानवीय क्षति समेत पुर्याएको छ । मधुवनको स्थानिय सरकारले मानवीय क्षति र अन्नबालिमा समेत क्षति नपुगोस भनेर सक्दो कोशीस गरिरहेको छ । विशेष गरि खाता करीडोरका कारणले क्षति हुने गरेको छ, हामीले चुनाव जितेपछि केहि सुधार त भएको छ तर पनि जती गर्न खोजेका थियौँ त्यती गर्न सकेका छैनौँ, तर हामीले आगामी दिनमा गरेर देखाउनेछौँ ।"
उहाँले एक फरक प्रसंगमा धनौरा ताराताल सडकखण्डको बारेमा अगाडि भन्नुभयो, "धनौरा ताराताल सडकखण्ड पुरा गर्नु छ । पटक पटक ठेकेदारलाई आग्रह गर्दा पनि काम नगरेको अवस्था छ, अब केहि समय भित्र ठेकेदारले काम नगरेमा ठेक्का रद्ध गरेर, अन्य उपाय अबलम्बन गरेर भएपनि आवातजावत सहज बनाउने छौँ ।"
उहाँले मधुवनको स्थानिय सरकारले सामाजिक र धार्मिक सहिष्णुता र स्वतन्त्रता कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,"मधुवन नगरपालिका बर्दिया जिल्लाकै पहिलो स्थानिय निकाय हो जसले सामाजिक र धार्मिक सहिष्णुता र स्वतन्त्रता कायम राख्न चर्च, गुम्बा र मठमन्दिर बनाउन प्रत्येक बर्ष १० देखी २० लाख सम्म खर्च गर्ने गरेको छ । संसारका सबै धर्मले नराम्रो काम नगर्नु, अन्याय-अत्याचार नगर्नु, सानालाई माया गर्नु, ठुलालाई सम्मान गर्नु, दुखी र विपन्नलाई सहयोग गर्नु, इमान्दार रहनु भनेर सिकाउँछ । तसर्थ हामी हाम्रो नगरपालिकालाई सामाजिक र धार्मिक सहिष्णुता र स्वतन्त्रताको मुल्य-मान्यतालाई अँझै बलियो बनाउने गरी अगाडि बढ्नेछौँ ।"
कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर के.सी.(कृष्ण), विषेश अतिथिका रुपमा मधुवन नगरपालिका वडा नं.-३ का वडा अध्यक्ष नारायण मल्ल, अतिथीका रुपमा वि.ओ.पी. भग्रैयाका सशस्त्र प्रहरी बल ईन्चार्ज अस्मित चौहन मगर, प्रहरी चौकि धनौरा इन्चार्ज, गाउँ बडघर रहनुभएको थियो भने कार्यक्रममा स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
लुम्बिनी प्रदेशका NCFN अध्यक्ष पास्टर हेम दासको सभापतित्वमा, उत्साह नेपाल बाँके र ग्रेस चर्च मिसनको आयोजनामा कार्यक्रम गरिएको थियो ।