बर्दिया । बर्दियामा अत्यन्तै विषालु मानिने गोमन सर्पको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको छ ।
जिल्लाको गुलरिया नगरपालिका वडा नंवर १ शंकरवस्तीमा स्थानीयको घरमा भेटिएको अत्यन्तै विषालु मानिने गोमन सर्पलाई उद्धार पछि प्राकृतिक वासस्थानमा छाडिएको हो ।
बर्दियाको गुलरियाबाट करिब २५ किलोमिटर पश्चिममा रहेको मधुवन नगरपालिका वडा नं.-३ को गौरी महिला सामुदायिक वनमा उक्त गोमन सर्पलाई छाडिएको हो ।
करिब १ महिना अघी संरक्षणकर्मीद्वय प्रकाश चपाइ र प्रकाश मल्लले शंकरवस्तीमा स्थानीयको घरबाट उक्त सर्पको उद्धार गर्नुभएको थियो ।
संरक्षणकर्मीद्वय चपाइ र मल्लले खाता सामुदायिक वन समन्वय समितीका उपाध्यक्ष भदै थारु, गौरी महिला सामुदायिक वन उपभोक्ता समुहकि सचिव देवी केसी, खाता सब-डिभिजन वन कार्यालय सानोश्रीका वन रक्षकद्वय राम थारु र रफिम साई लगायत पत्रकारहरु सन्दिप नाथ योगी, हरि गुरुङको रोहबरमा सोमबार, माघ २४, २०७८ गते लम्बाई ४ फिट ३ ईन्च, मोटाई ३ ईन्च र करिब ४ सय ६० ग्राम तौल भएको उक्त गोमन सर्पलाई प्राकृतिक वासस्थानमा छाड्नुभएको हो ।
गोमन सर्पको सङ्ख्या घट्दै गएर लोप हुने सम्भावना बढ्दै गएको छ । त्यसैले वातावरण, प्राणी र वनस्पतिको संरक्षणका लागि काम गर्ने विश्व संरक्षण सङ्घले यसलाई लोप हुन लागेको घस्रने जनावरको सूचीमा राखेको छ ।
अन्तर्राष्टि्य बजारमा समेत गोमनको विष, छाला, काँचुली र बोसोको लुकीछिपी व्यापार हुने गरेको छ । अवैध व्यापार नियन्त्रण गर्न बनेको विश्वव्यापी कानुन (साइटिस)को सूची नं. २ मा गोमन सर्पलाई राखिएको छ। त्यस्तै गोमन सर्पको संख्या र अवस्थाबारे धेरै अध्ययन हुन नसकेका कारण विश्व संरक्षण सङ्घको खतराको सूचीभित्र पनि पर्याप्त तथ्यांक नभएका प्रजातिको समूहमा गोमन सर्पलाई राखिएको छ ।
गोमन सर्प जति विषालु भए पनि वातावरण सन्तुलन राख्नमा यसको महत्त्वपूर्ण भूमिका रहेको छ ।