भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात: स्वास्थ्यकर्मीहरु आन्दोलित, सात सदस्यीय छानबिन समिति गठन
नेपालगन्ज । दाङका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि नेपालगन्जस्थित भेरी अस्पतालमा आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेका छन ।
जेठ ४ देखि उपचाररत दाङका ५३ वर्षीय डिल्लीबहादुर रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
दाङका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष धितालका अनुसार मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका हुन् ।
मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो । बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले भेन्टिलेटरमा राखेर बचाउने प्रयत्न गर्दागर्दै बिरामीको ज्यान गएको उहाँको भनाइ छ ।
बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसीयूकक्षमा तोडफोड गरेका छन् ।
अस्पतालमा कार्यरत नर्सहरूले सुरक्षाको ग्यारेन्टी र दुव्र्यवहार गर्नेलाई कारवाही हुनुपर्ने माग राखेका छन् । चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना मृतकका आफन्तलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
यता उक्त घटनाका दोषिहरुलाई कारबाही हुनुका साथै स्वास्थ्यकर्मिको सुरक्षामा प्रशासनले ध्यान पुर्याउनुपर्ने भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । स्वास्थ्यकर्मिहरुले अस्पातलको सेवा भने रोकेका छैनन ।


