काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताउनुभएको छ । शारदानगर जेसिजको २२औंँ पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गदैँ उहाँले एमसिसीका बारेमा प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक भएको बताउनुभयो ।
एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै उहाँले काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने जिकिर गर्नुभयो । एमसिसी नेपालले नै माग गरेको आयोजना भएकाले यो नेपालको हितमा रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले विगतका सरकारहरुले पनि यस परियोजनाको सहमति तथा सम्झौताका विभिन्न चरणमा निरन्तरता दिँदै आएका प्रसंग उल्लेख गर्दै अहिले आएर उनीहरुले नै त्यसलाई गिजोल्ने काम गरेको बताउनुभयो । उहाँले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले कांग्रेससँग बहुमत नभएकै कारण देशले विकास पाउन नसकेको जनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, “विधि, कानुन र संविधानको सर्वोच्चता मान्ने पार्टी कांग्रेस नै हो।”
कार्यक्रममा भरतपुर महानगरपालिका–१९ का वडाध्यक्ष कर्णबहादुर गुरुङ, जेसिजका नेतृहरु तारा गुरुङ, प्रमिशा काफ्लेलगायतले बोल्नुभएको थियो। यसअघिका जेसिजका अध्यक्ष इन्द्रलाल श्रेष्ठको समितिले मसिना गुरुङको समितिलाई पद हस्तान्तरण गरेको थियो।