झापा । भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनाले कोलकाता हाइकोर्टको आदेशअनुसार प्रारम्भिक क्षतिपूर्ति पाउनुभएको छ । उहाँले आज (आइतबार) ५ लाख भारतीय रुपैयाँ (८ लाख) को चेक पाउनुभएको हो ।
झापाको मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रमका कोलकातास्थित महावाणिज्यदूत ईश्वरराज पौडेलले तिम्सिनालाई क्षतिपूर्ति रकमको चेक हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा पौडेलले पश्चिम बंगाल सरकारले तिम्सिनालाई प्रारम्भिक चरणको क्षतिपूर्ति दिएको र मुद्दा विचाराधीन रहेकाले अन्य सेवा सुविधामा यसले असर नगर्ने बताउनुभयो ।
कोलकाता हाइकोर्टले गत मंसिर दोस्रो साता छ साताभित्र दुर्गाप्रसादलाई क्षतिपूूर्ति दिन पश्चिम बंगाल सरकारका नाममा आदेश जारी गरेको थियो । न्यायाधीशद्वय राजर्षि भारद्वाज र प्रकाश श्रीवास्तवको इजलासले यस्तो आदेश दिएको हो । आदेशअनुसार महावाणिज्यदूत पौडेलले झापासम्म आएर चेक हस्तान्तरण गर्नुभएको हो । चेक लिन दुर्गाप्रसाद र उहाँको परिवार झापा पुगेको थियो ।
दुर्गाप्रसादको बैंक खाता नभएको अवस्थामा समेत उहाँको परिवारसमेतको खातामा रकम पठाउन सक्नेगरी हाइकोर्टको आदेश थियो । दुर्गाप्रसादलाई चेक हस्तान्तरण गरिएको उहाँका भाइ (काकाका छोरा) प्रकाश तिम्सिनाले जानकारी दिनुभयो । ‘यो प्रारम्भिक क्षतिपूर्ति हो, मुद्दा हाइकोर्टमा विचाराधीन नै छ,’ प्रकाशले भन्नुभयो ।
दुर्गाप्रसाद विराटनगरस्थित मानवसेवा आश्रममा बसिरहनुभएको छ । उहाँ आमाको काजकिरियाका लागि आफ्नो घर इलामको माई नगरपालिका–१०, लुम्बाक आउनुभएको थियो । पश्श्चिम बंगालकी एक महिलाको हत्या आरोपमा दुर्गाप्रसाद (दीपक जैसी)लाई पक्राउ गरी पश्चिम बंगालका विभिन्न जेलमा राखिएको थियो । जेल परेको ४० वर्षसम्म उहाँको मुद्दामा कुनै सुनुवाई नभएको थाहा पाएपछि २०७७ चैत ७ मा कोलकाता हाइकोर्टले तिम्सिनालाई छाड्न आदेश दिएको थियो ।
कोलकातास्थित दमदम कारागारमा रहनुभएका दुर्गाप्रसाद त्यहाँबाट छुटेपछि भोलिपल्ट आफ्नो घर इलामको माई नगरपालिका–१०, लुम्बाक फर्किनुभएको थियो । उहाँले आफूले कसैको हत्या गरेको नभई आफूलाई फसाइएको बताइरहनु भएको छ । मानसिक समस्या रहेका दुर्गाप्रसादलाई चिकित्सकले उहाँले ९ वर्ष ९ महिनाको बालकको जस्तो बोली–व्यवहारमात्र गर्नसक्ने रिपोर्ट दिएका थिए । हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६÷६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन पनि आदेश दिएको थियो ।
लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहजभएपछि उहाँलाई उपचारका लागि विराटनगर लगेर फर्काइएको थियो । १७ दिन उपचार गर्दा पनि पूर्ण रूपमा निको नभएकाले मानवसेवा आश्रममै लगिएको दुर्गाप्रसादका भतिजा गोपालले बताउनुभयो । उहाँको उपचारका लागि १ नम्बर प्रदेश सरकार र माई नगरपालिकाले समेत आर्थिक सहयोग गरेका छन् ।
२०३७ साल माघमा २० वर्षे उमेरका दुर्गाप्रसाद घर छाडेर बेपत्ता हुनुभएको थियो । त्यतिबेला उहाँको घर एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा (हाल फाकफोकथुम गाउँपालिका)मा थियो। तर, पछि उहाँको परिवार लुम्बाकमा बसाइँ सरेको हो । घर छाडेकै वर्ष उहाँलाई हत्या आरोप लागेको थियो । २०७७ फागुनमा उहाँ दमदम कारागारमा हुनुहुन्छ भन्ने पत्तो लागेपछि उद्धार गरिएको थियो ।