काठमाडौँ । नेपाली साहित्यका एक विशिष्ट प्रतिभा तारानाथ शर्मा (ताना) को निधन भएको छ । उहाँको ८७ वर्षको उमेरमा मंगलबार विहान निधन भएको हो ।
लामो समयदेखि डिमेन्सिया (विस्मृति) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आउनुभएको थियो । मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने भएको छ । शर्माका दुई छोरा र श्रीमती हुनुहुन्छ ।
इलामको बरबोटेमा १९९१ असार ९ गते निर्जला एकादशीका दिनमा जन्मिनुभएका शर्माको संस्कृत शिक्षबाट पठनपाठन आरम्भ भएको थियो ।
२०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतसँग सहकार्य गरेर झर्रोवादी आन्दोलन चलाउनु भएको थियो ।
नेपाली भाषालाई झर्रोवादी पहिचान दिने र नेपाली आत्मपरक निबन्ध लेखनलाई लोकप्रिय बनाउने श्रेय उहाँलाई जान्छ । शर्माले ‘बेलाइततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाउनुभएको थियो ।
‘बेलाइततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका लेखक शर्माका नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन् ।