बर्दिया । बर्दियामा कुखुरा खोरबाट जुवाडेहरु पक्राउ परेका छन । कुखुरा पालन गर्न बनाइएको खाली रहेको खोरमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका वडा नं ९ का २९ वर्षीय बिनोद चौधरी, २३ वर्षीय राजेश चौधरी, २८ वर्षीय प्रकाश चौधरी, ३१ वर्षीय मान बहादुर चौधरी, २८ वर्षीय हिमाल चौधरी र २९ वर्षीय दिलिप तामाङ रहेका छन ।
बर्दियाको मधुबन नगरपालिका वडा नं-९ बेलटाँरी गाँउमा जुवा तास खेलिरहेको भन्ने विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) चक्र बहादुर डमरपालको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हेम बहादुर शाहीले नेपालकागजलाई जानकारी दिनुभयो ।
प्रवक्ता शाहीका अनुसार उनिहरुलाइ बिनोद चौधरीको कुखुरा पालन गर्न बनाइएको खाली रहेको खोरबाट जुवा खेलिरहेको अवस्थामा नगद रू. ४८ हजार २८५ र जुवा खेल्न प्रयोग भएको तास साहित पक्राउ गरिएको हो ।
हाल उनिहरुलाई जिल्ला प्रशासन कार्यालय बर्दियाबाट जुवा सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता शाहीले बताउनुभयो ।
मंगलबार, फागुन ३, २०७८ गते राती करिब ११ बजेको समयमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
स्मरणीय रहोस जुवातासका कारण धेरै नेपाली दाजुभाई, आमाबुबा तथा दिदिबहिनीहरु प्रत्यक्ष परोक्ष रुपमा सामाजिक र मनोबैज्ञानिक रुपले पीडित छन ।
जुवातास खेल्नु खेलाउनु अपराध मात्र नभएर सामाजिक समस्याको रुपमा भुसको आगो सरी सल्किरहेको छ । धेरै नेपाली गृहणीहरुको घर उजाडिनुमा पनि यो एक प्रमुख तथा बिकराल समस्याको रुपमा देखिएको छ ।