बाँके । बाँके प्रहरीले खुकुरी लिएर राष्ट्रिय वाणिज्य बैँक भित्र तोडफोड गर्ने ब्यक्तिलाई पक्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका वडा नं-९ बस्ने २६ वर्षिय सन्जु विकलाई प्रहरीले पक्राउ गरेको हो ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं -२ मा रहेको राष्ट्रिय वाणिज्य बैंक भित्र प्रवेश गरी सन्जुले विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी फरार रहेका थिए ।
उक्त घटना बिहान ५ बजे घटेको सुचना प्राप्त भएपछि प्रहरीले ब्यापक खोजतलास गर्दा नेपालगन्जको धम्बोजी चोकबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले सन्जुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डिएसपी) डेप्युटी सुपेरिटेन्डेन्ट अफ पोलिस मधुुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
बरामद् भएको हतियार/तस्वीर स्रोत- जिल्ला प्रहरी कार्यालय बाँके
प्रवक्ता न्यौपानेले नेपाल कागजसंग टेलिफोन संपर्कमा भन्नुभयो, "शुक्रबार, फागुन ६, २०७८ बिहान घटनाको जानकारी प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली लगायत बाँकेमा रहेका सबै प्रहरी युनिटले बाँकेका सम्भावित ठाउँहरुमा खोजतलास गरेक थियो । घटनास्थलबाट उसको मोबाइल बरामद भएको थियो । मोबाइल कल डिटेल्सको अनुसन्धान गर्दै जाँदा बिहान १० बजे हाम्रो टोलीले धम्बोझी चोकबाट पक्राउ गरेको हो।"
घटना घटेको करीब ५ घण्टा भित्र बाँके प्रहरीले सन्जु बिकलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सन्जु बिक/तस्वीर स्रोत- जिल्ला प्रहरी कार्यालय बाँके
सरकारले स्थानीय तहको निर्वाचन मिती घोषणा गरेपछि बाँके प्रहरीले भारतीय सिमामा उच्च सतर्कता अपनाउँदै शान्तिसुरक्षामा खलल पुर्याउनसक्ने खालका गतिबिधी गर्न सक्ने सम्भावित समुहहरु तथा तथाकथित "डन"हरुलाई निगरानीमा राखेको जिल्ला प्रहरी कार्यालय बाँकेमा रहेका हाम्रो स्रोतको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सन्जु बिकलाई उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको बाँके प्रहरीले जानकारी दिएको छ ।