जनकपुर । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा सूर्य ढुङ्गेलले दिगो विकास लक्ष्य पूरा गर्न आयोगले छ वर्षे रणनीतिक योजना बनाएर अघि बढेको बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको ‘दिगो विकास लक्ष्यहरु र मानव अधिकार’ विषयक छलफल कार्यक्रममा उहाँले दिगो विकास लक्ष्यका सबै बुँदा मानवअधिकारसँग जोडिएकाले त्यसलाई पूरा गर्न आयोग रणनीतिक योजनासहित अघि बढ्ेको बताउनुभयो ।
दिगो विकास लक्ष्य र मानवअधिकारलाई सँगै जोडेर सबै पक्ष सामूहिकरूपमा अघि बढे मात्र लक्ष्य पूरा हुन सक्ने उल्लेख गर्दैै सदस्य डा ढुङ्गेलले यसका लागि आयोग तीनै तहका सरकार र नागरिक समाजसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरकारले आगामी सन् २०३० सम्म दिगो विकास लक्ष्य पूरा गर्ने प्रतिबद्धताका साथ अघि बढेकाले त्यो लक्ष्य पूरा गर्न सरकार मात्रको प्रयासले सम्भव नभएकाले यसमा तीनै तहका सरकारसँगै नागरिक समाज, अधिकारकर्मीलगायत सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
गरिबी, असमानता, जातीय विभेदलगायतका कारण मानवअधिकार रक्षामा चुनौती बनेको भन्दै उहाँले दिगो विकास लक्ष्यले गरिबी, बेरोजागारी, असमानता, विभेदको अन्त्य गर्ने परिकल्पना गरेकाले यसमा आयोग रणनीतिकरूपमै अघि बढेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादवले मधेस प्रदेशमा मानव अधिकारको सवाल चुनौतीपूर्ण बनेको उल्लेख गर्दै दिगो विकास लक्ष्य प्राप्तिका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
प्रतिबद्धता कागजमा मात्र गरेर नपुग्ने भएकाले यसलाई इमान्दारीपूर्वक जिम्मेवार निकायहरुले कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले यसका लागि तीनै तहका सरकारले ठोस योजना बनाउनुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा प्रदेशसभा सदस्य मञ्जु यादव, प्रदेश सरकारका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका सचिव केशवप्रसाद विमली, संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषका प्रमुख नरेन्द्र मिश्र, राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख वीरबहादुर बुढालगायतले सरकारको दिगो विकास लक्ष्य पूरा गर्न सबै पक्षको सहकार्य जरुरी रहेको बताउनुभयो ।