बाँके (नेपालगन्ज) । करिब १५० ग्राम लागूऔषध 'खैरो हेरोइन' (ब्राउन सुगर) सहीत बाँकेको नेपालगन्जबाट १ जना पक्राउ परेका छन । बाँके प्रहरीले भारी मात्राको लागूऔषध ब्राउनसुगर पक्राउ गर्न सफल भएको हो ।
मंगलबार, फागुन १०, २०७८ गते बिहान करिब ५:३० बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं- १६ चौलिका चोकबाट १५० ग्राम लागूऔषध 'खैरो हेरोइन' (ब्राउन सुगर)सहित १ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिया जिल्ला बढैयाताल गाउँंपालिका वडा नं - १ शान्तिपुर बस्ने २४ वर्षीय प्रवीण विसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
प्रवक्ता न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिसीले लगाएको ज्याकेटको दाहिने खल्तिमा लुकाएर राखेको अवस्थामा ३ वटा सेतो प्लास्टिकको पोकामा १५० ग्राम लागूऔषध 'खैरो हेरोइन' (ब्राउन सुगर) फेला परेको थियो ।
प्रवक्ता न्यौपानेले नेपालकागजसंग फोन सम्पर्कमा भन्नुभयो, "पछिल्लो समय हामी सेवनकर्ता भन्दा मुख्य कारोबारी सम्म पुगेर जरै देखि यो समस्यालाई न्युनिकरण गर्ने अभियानमा छौँ । यसकोलागी भारतिय प्रहरीले समेत हामिलाई सहयोग गरेको छ । सिमाबाट आउने लागूऔषध नियन्त्रण गर्न हामिले प्रयास होइन अभियान चलाएका छौँ ।"
उहाँले अगाडी भन्नुभयो, "अहिलेपनी हामिले हिरासतमा राखेर ठुलाठुला कारोबारीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याएका छौँ । धेरैको मुद्दा चलिरहेको छ भने धेरै अनुसन्धान परिधी भित्र छन । जसरी भएपनी लागूऔषध कारोबारीलाई कानुनी दायरामा ल्याएर दुर्व्यसनलाई न्यूनीकरण गर्ने बाँके प्रहरीको रणनीति हो ।"
बिसीले भारतको रुपैडियाहमा पुगेर रु ४ लाखमा लागूऔषध ब्राउनसुगर किनेर नेपाल ल्याउँदै गरेको अवस्थामा बाँके प्रहरीको टोलीले पक्राउ गरेको हो ।
बिसीले उक्त १५० ग्राम ठूलो परिमाणको लागु औषध ब्राउन सुगर बिक्री गर्न काठमाडौ लिएर जाने योजनामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई अहिले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । ठूलो परिमाणको लागूऔषध खैरो हेरोइन बरामद गर्न बाँके प्रहरी सफल भएको छ ।
पछिल्लो समय बाँके प्रहरी लागूऔषध सेवनकर्ता भन्दा डिलरलाई पक्राउ गर्दै आएको घटनाक्रमहरुले उजागर गरेका छन ।