फाइल तस्वीर
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको निधन भएको छ । बाघको आक्रमणमा परी ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ निवासी सैनवारकी ४१ वर्षीया लिली चौधरीको निधन भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले नेपाल कागजलाई जानकारी दिनुभयो ।
उहाँलाई मंगलबार, फागुन १०, २०७८ गते राती ८ बजेतिर बाघले आक्रमण गर्दा गम्भीर घाइते हुनुभएको थियो ।
घाइते चौधरीको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले नेपालकागजलाई जानकारी दिनुभयो ।
उहाँको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा राखिएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।
यस घटनाको बारेमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठसंग हामिले सम्पर्क गरेका थियौँ ।
उहाँले घटनाको विस्तृत अनुसन्धान भैरहेको जानकारी दिँदै नेपालकागजसंग फोन सम्पर्कमा भन्नुभयो, "यो घटनाले हामी निकुञ्ज परिवारलाई अत्यन्तै मर्माहित तथा दुखी तुल्याएको छ । पीडित परिवार प्रती समबेदना प्रकट गर्दछु र पीडित परिवारले पाउने आवश्यक क्षतिपूर्तिको सहज व्यवस्थाको लागि हामिले कार्य अगाडि बढाउनेनै छौँ । यो क्षतिपूर्ति उहाँको परिवारको पिडाको अगाडि केहि होइन तर घाउमा मल्हम लगाउने हाम्रो प्रयास रहनेछ ।"
उहाँले मानव वन्यजन्तु द्वन्द न्युनिकरणकालागी बर्दिया निकुञ्ज संबेदनशिल भइ काम गरेको र आगामी दिनमा प्रभावकारी योजनाहरु लागू गर्ने बताउँदै बाघ आक्रमणको घटनाको अनुसन्धान भैरहेको बताउनुभयो ।
नेपाली सेना र निकुञ्जका अधिकारीहरुले चौधरीलाई उपचारको लागि पठाएकोमा बाटोमै उहाँको निधन भएको हो ।