अल बिदा महान वृक्षमित्र सुन्दरलाल बहुगुणा |(विचार)
सन् १९७० को दशकमा बिश्व मन्चमा जोडदार रुपले पर्यावरण संरक्षण एंव वृक्षारोपणका लागि उठाइएको चिपको आन्दोलनका महानायक सुन्दरलाल बहुगुनालाई निर्दयी कोरोना भाइरसले सदाका लागि हामीबाट बिदा गरेको छ ।
उनको सन् १९२७ जनवरी ९ मा भारतको उत्तराखण्ड राज्यको कुमाउ सिलयारामा बाबु अम्बादत्त र आमा पुर्णादेवीको कोखबाट भएको थियो ।
स्नातक तहसम्मको औपचारिक शिक्षा लिएका बहुगुनाले सन् १९४९ मा तत्कालिन अबस्थामा दलित माथिको विभेद अन्त गर्न एंव मन्दिर प्रबेशमा लगाइएको प्रतिबन्धका बिरुद्दमा आन्दोलन गरेका थिए | पछि दलितको उत्थानका लागि टिहरीमा होस्टल समेत निर्माण गरेका थिए ।
सुन्दरलाल बहुगुनाले सानै देखि वृक्षारोपणमा चासो दिने गरेको भएता पनि विमला नौटियालसंग बैबाहिक बन्धनमा बाधीय पश्चात सशक्त आन्दोलन नै छेडेका थिए । यसै क्रममा पत्नीको सहयोगमा सिलयारामा पर्वतीय नवजीवन मण्डलको स्थापना गरेका थिए |मुख्य गरि भारतको उत्तराखण्डको कुमाउ-गडवाल क्षेत्रको चमोली जिल्लामा चिपको आन्दोलनले प्रभावकारी आन्दोलन चलाएको थियो ।
स्थानीय भाषामा "अवाल्था "भनिने र सो को नेपाली अर्थ अँगालो मार्नु र हिन्दिमा चिप भनिने हुदाँ त्यसलाई चिपको आन्दोलन भनिएको हो । त्यस कालमा जथाभाबी बन फरानी भैरहेको,बिकासका नाममा जथाभावी भू-खनन भैरहेको र सो का कारण भूक्षय र बन बिनास हुन गई मानव जीवन र पर्यावरणमा पुग्न सक्ने क्षतिलाई रोक्न संदेश मुलक आन्दोलनका रुपमा यो आन्दोलन भएको थियो ।
सुन्दरलाल बहुगुनाको यो आन्दोलन कुनै बिदेशी संघ संस्थाको सहयोग र समर्थनमा बिदेशी डलर कुम्ल्याउने उद्देश्यमा थिएन । नितान्त ग्रामिण तहबाट स्थानीयहरुको साथ र सहयोगबाट अन्तर मनले प्रेरित भै पबित्र आत्माबाट संचालित आन्दोलन थियो ।
पर्यावरण क्षेत्रमा पुराएको योगदानका लागि सयौं उच्च स्तरको पुरस्कारबाट सम्मानित गरिको थियो । सो मध्ये भारतकै उच्च स्तरको पद्म श्री पुरस्कार (१९८१) प्रदान गरिएकोमा आफु सोका लागि अयोग्य रहेको भनि लिन अस्विकार गरेका थिए |
उनले भनेका थिए "जवसम्म बोटबिरुवाको बिनाश जारिरहन्छ तव सम्म आफ्नो आन्दोलन सफल भएको मान नसकिने हुँदा सो पुरस्कार लिन आफु अयोग्य रहने" भन्दै लिन अस्विकार गरेका थिए । पर्यावरण संरक्षणर चेतनाका लागि कैयौ पटक नेपालको पहाडी ,हिमाली भूमिमा यात्रा समेत गरेका थिए |
त्यसो त प्रकृतिमा मानव जीवन र पर्यावरण बीच घनिष्ट सम्बन्ध रही आएको छ । मानव जीवनका लागि आवश्यक अक्सिजन बोटबिरुवाबाट पाइने र स्वास फेर्दा बाहिरिने कार्वनदाइअक्साइड बोटबिरुवाले लिने हुँदा यी दुई बीच सृष्टिकाल देखि नै अन्योन्याश्रित सम्बन्ध पाइन्छ ।
मानिसले आफनै हित र सुविधाका लागि गरेका भौतिक ,प्राबिधिक र बैज्ञानिक बिकासको गलत प्रयोगका कारण अमुल्य मानवजीवनलाई नै बिनास गरिरहेको तितो यथार्थ समेत हामी माझ रहेको छ ।
सभ्यताको उच्च तहमा पुगेका ,आर्थिक ,भौतिक विकासले शिखर चुमेका ठुला राष्ट्रहरुको विवेकहीन सोचका कारण प्रकृति माथि सदैव चुनौती थपेको देखिन्छ |
विनासकारी हतियार र आणविक अस्त्रको बढ्दो प्रतिस्पर्धाका कारण पर्यावरण बिनास बढ्दो छ | यसले बिसाल भूखण्ड पृथ्वीको आयु दिन प्रतिदिन छोट्टी रहेको देखिन्छ । गएका केहि महिना अगाडि वायुमण्डलमा देखिएको प्रदुषण र त्यसले मानव जीवनमा पुगेको क्षति ,प्रत्येक बर्ष बायुमन्डलमा देखिएको उच्च तापमान यसका उदाहरण हुन् ।
हाम्रो देशमा समेत बिकासका नाममा जमिनको खण्डिकरण गर्ने, उधोग कलकारखानाको अब्यबस्थापन , सडक निर्माणका नाममा जथाभावी डोजर चलाउने,बिधुतिय उर्जा निर्माण लगाएतका बिकासका नाममा भएको बन बिनाशको गति बढ्दो देखिन्छ ।
हाल रहेको अस्थिर राजनीतिका कारण तराइ,भित्रि मधेश र पहाडी क्षेत्रका कैयन घना बनजंगल राजनीति दलको आडमा बिनाश भै रहेको तथा नदिजन्य बस्तुमा अप्राकृतिक दोहन हुँदा वाताताबरण विनाशमा सहयोग पुगेको छ । संघीय संरचनामा प्रवेश संगै स्थानीय तहका सरकारले वाताबरण मैत्री कानुन निर्वाण गरि विकासलाई आत्मसाथ गर्न नसक्दा समेत बिकास भन्दा बिनास बढ्न गएको पाइन्छ ।
अत:हिन्दकुश क्षेत्रमा रहेका हिमालका सेताम्य हिउँ प्रति बर्ष पातलीदो अबस्थामा गैरहेको ,हाम्रै वरपरको वाताबरणमा दिनप्रतिदिन तापमान बृदि हुनु,समुन्द्रको पानीको सतह बढ्दो ताप संगै बढ्दै जानुले भोलिका पिढिका लागि सोच्नु पर्ने समय आइसकेको देखिन्छ ।
त्यसैले व्यक्ति,परिवार,समाज राष्ट्रले यस बिषयलाई गम्भीर रुपले आत्म साथ गर्नै पर्छ |हाम्रो संघीय शासन प्रणालीमा रहेका तिनै तहले संबिधानको अनुसूचिमा उल्लेखित अधिकारहरु वाताबरण मैत्री हिसावले भोलिका पिढीलाई बिचार गरि उपयोग गर्नु अनिवार्य भैसकेको छ ।
अत: उनी माहान वृक्ष मित्र पर्यावरणविद सुन्दरलाल बहुगुनाले मानव मात्रको हित र भलाइका लागि प्रारम्भ गरेको चिपको आन्दोलन र त्यसको मर्मलाई आत्म साथ गरि संयुक्त राष्ट्र संघ बाट पारित दिगो विकासको अबधारणालाई समेत अक्षरंश पालना गर्नु नै उनी प्रतिको सच्चा भक्ति भाव हुने देखिन्छ ।
लेखक - गङ्गा योगी
लेखक हाल कारागार कार्यालय धादिङको प्रमुखको रूपमा कार्यरत हुनु हुन्छ।