गणतन्त्र दिवसको शुभकामना(सम्पादकीय)
२०६२/०६३ को जनआन्दोलनको सफलताले स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १४ बर्ष पुरा भएको छ । यसले नेपाली इतिहासमा नेपाल एकीकरण पश्चात स्थापित शाही राजतन्त्रको विधिवत बिदाई मात्र गरेन नेपाली राजनीतिमा गणतन्त्रात्मक शासनको स्थापना समेत गरेको छ ।
यस अर्थमा नेपाली राजनीतिले जहानिया राणा शासन हुँदै पंचायत ब्यबस्था, संबैधानिक राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र सम्मको यात्रा पार गरि सकेको छ । र यो ऐतिहासिक काल खण्डमा आइपुग्दासम्म हजारौ नेपाली सपुतहरुले प्राणको बलिदानी दिएको, थुप्रै छोरी -आमाहरुको सिन्दुर चुरा खोसिएको, हजारौ सन्ततिले अभिभावक गुमाएको नमिठो यथार्थता समेत हामी माझ रहेको छ ।
त्यसैले पनि स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन ब्यबस्था सम्बृद्ध नेपाल निर्माणका लागि कोशेढुङ्गा बन्न सक्नु पर्छ । यसले भौगोलिक रुपमा रहेका हिमाल ,पाहाड र तराईलाई मात्र नजोडी त्यहाँ बसोबास गर्ने सबै नेपाली मनलाई पनि जोड्नु पर्छ । यो साझा भूमिमा सबै बर्ग, क्षेत्र,धर्म, जात जातिलाई मेरो देशको भावना जगाउने, राष्ट्रभावको अनुभूति गराउने साझा फुलबारी बन्न सक्नु पर्छ ।
नेपालको संबिधान २०७२ को मर्म र भावलाई सबै राजनैतिक दल, बुद्दीजीवि, नागरिक समाज, आम नागरिकले आत्म साथ गर्दै संविधानको प्रस्तावनामा उल्लेखित अबको हाम्रो गन्तब्य आर्थिक क्रान्ति, शुसासन र सम्बृद्धि बन्न सक्नु पर्छ । यो किन पनि हो भनि अब नेपाली भूमिमा कुनै पनि निरंकुस शासन प्रणालीका बिरुद्द क्रान्ति गर्नु पर्ने अबस्था बाकि छैन छ त केवल व्याप्त गरिवी, अशिक्षा, रोग र भोग मात्र छ । र यसको निराकरण भनेको स्थिर राजनैतिक शासन प्रणाली । साँघुरो दलीय स्वार्थ भन्दा माथि बिशाल राष्ट्रिय स्वार्थ नै हो ।
सत्ताको लोभीपापी सोच नभएर बृहत राष्ट्रिय सोच नै हो । साथै आम नागरिले समेत आफ्ना निजि हित र फाइदा भन्दा समग्रह नेपाल र नेपालीको हितलाई महत्व दिनु हो । यसका लागि आम नेपाली जनले समेत पार्टीको साँघुरो क्षेत्र भन्दा बाहिर आउननै पर्छ । साथै कुनै अमुक दलप्रतिको लम्पट अन्ध भक्त भन्दा माथी उठी राष्ट्रिय हित र भलाइका लागि काम गर्ने सहि नेतृत्वको चैन नै हो ।
त्यसैले सचेत नागरिकले आफ्नो जनअभिमतको सहि प्रयोग गरि सहि नेतृत्वलाई शासनमा पुराउने र गलतलाई दण्डित गर्नै पर्छ । यसले मात्र शासन ब्यबस्थालाई सुद्दिकरण गर्न सहायोग पुग्ने देखिन्छ । यसबाट नै स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले परिकल्पना गरेको सम्बृद्ध नेपाल सुखी नेपालीको चाहानालाई पुरा गर्ने देखिन्छ । अत:गणतन्त्र दिवसको यो अवसरलाई भाषण र कार्यक्रमा मात्र सिमित नगरी मन, बचन र कर्मले साकार पार्ने दिसामा जान सकेमा नै सम्पूर्ण ज्ञात अज्ञात सहिद प्रतिको सच्चा श्रध्दा हुने छ । सुखको यो क्षणमा सबै प्रति शुभकामना ।
अर्पणा योगी
प्रधान सम्पादक