गलेश्वर । पत्रकार धु्रवसागर शर्माका परिवारले दिवङ्गत छोरीको स्मृतिमा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा पत्रकार शर्मा र उहाँका श्रीमती अम्बिका शर्माले दिवङ्गत छोरी विनिता शर्माको स्मृतिमा स्थापना गर्नुभएको अक्षयकोषका लागि शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर रिजाल र प्रअ छेमबहादुर गर्बुजालाई रु एक लाख हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा शर्मा दम्पतीले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्रीसमेत हस्तान्तरण गर्नुभयो । आन्द्राको क्यान्सरबाट थलिएकी विनिताको यही फागुन १० गते भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा २१ वर्षको उमेरमा निधन भएको थियो ।
नेपाल पत्रकार महासङ्घ म्याग्दीका संस्थापक उपाध्यक्ष, वर्तमान केन्द्रीय परिषद् सदस्य, नेपाल प्रेस युनियन म्याग्दीका संस्थापक सभापति शर्मा राससलगायतका सञ्चारमाध्यममा आबद्ध हुनुहुन्छ । “छोरीको उपचारका लागि मेरा आफन्त, छिमेकी, सहकर्मी, सङ्घसंस्था, पूर्वविद्यार्थी, छोरीको साथीहरुबाट रु २२ लाख ८० हजार सहयोग प्राप्त भएको थियो”, पत्रकार शर्माले भन्नुभयो, “उपचारका क्रममा बचेको रु ६३ हजारमा परिवारकोतर्फबाट रु ३७ हजार थप गरेर विनिताको सम्झनामा अक्षयकोष बनाउने निर्णय गरेका हौँ ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले यो अक्षयकोषको ब्याजबाट गरिब विपन्न विद्यार्थीको पठनपाठनमा परिचालन गर्ने प्रतिबद्धता जनाउनुभयो । सो कार्यक्रममा सरस्वती आधारभूत विद्यालयको स्तरोन्नतिका लागि सञ्चालित आर्थिक सङ्कलन अभियानका बारेमा पनि जानकारी गराइएको थियो ।
प्रधानाध्यापक गर्बुजाले गत कात्तिक महिनादेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म २६ जनाबाट रु १२ लाख ५२ हजार तीन हजार ४०० घोषणा भएकामा रु एक लाख ९३ हजार ४०० जम्मा भएको जानकारी दिनुभयो । विद्यालयलाई स्तरोन्नति गरेर कक्षा ८ सम्मको पठनपाठन सञ्चालन गर्न आर्थिक सङ्कलन अभियान थालिएको शिक्षक प्रेमबहादुर कार्कीले बताउनुभयो । यसअघि कक्षा ५ सम्मको पढाइ हुने गरेको थियो । हाल कक्षा ७ सम्म पढाइ हुने विद्यालयमा ९६ विद्यार्थी रहेका शिक्षक घनदेवी पुन घर्तीले बताउनुभयो ।
जिल्ला सदरमुकाम बेनी बजारका विद्यालयमा विद्यार्थीको चाप बढेकाले नजिक रहेको सरस्वती आधारभूतको स्तरोन्नति गर्न लागिएको आर्थिक सङ्कलन अभियानका संयोजक कृष्ण थापाले बताउनुभयो ।
नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त हुनुभएका मदन थापाले सरस्वती आधारभूतलाई स्तरोन्नति गरेर कृषि क्याम्पसमा रुपान्तरण गर्ने अवधारणा प्रस्तुत गर्नुभयो । स्थानीय भद्रबहादुर कार्कीले विद्यालयको सुधारका लागि समुदायले चासो दिनुपर्ने बताउनुभयो ।