स्वास्थ्यकर्मी प्रति आक्रमण होइन हौसला दिऔँ । (सम्पादकीय)
कोभिड संक्रमणको यो कठिन क्षणमा आफ्नै जीवनलाई प्रवाह नगरी मानवजीवन रक्षाका लागि अग्रमोर्चामा युद्ध मैदानमा लडिरहेका स्वास्थ्यकर्मीहरु प्रति सम्मान भाव प्रकट गर्नु पर्ने समयमा भेरी अस्पतालमा आफन्त जनको मृत्यु पछि भएको तोडफोड र स्वास्थ्यकर्मी माथिको आक्रमण अत्यन्त निन्दनीय मात्र होइन दुखद पनि छ ।
बिरामीको मृत्यु आफैमा दुखदायी भएतापनि सोहि कारण स्वास्थ्यकर्मी माथि जाइलाग्नु सभ्य सामाजका लागी सोभनीय होइन । स्वास्थ्यकर्मी पेशाविद हुन् उनीहरुले आफ्नो पेशागत विज्ञताको हदैसम्म प्रयोग गरि उपचारमा लाग्ने हो यसमा कहिले सतप्रतिशत परिणाम प्राप्त हुन्छ भने कहिले असफलता पनि हात पर्न सक्छ । तथापि यसमा उच्च लगन र मनोवलका साथ प्रतिवद्ध हुनु स्वास्थ्यकर्मिको पेशागत आचार संहिताको अत्यन्त महत्वपूर्ण बिषय हो ।
त्यसो त आम बुझाइमा समेत विश्वासका साथ आउने हर कोहीका लागि मानसिक र शारीरिक उपचार गर्नु स्वास्थ्यकर्मिको दायित्व हो भने स्वास्थ्य लाभ पछि प्राप्त हुने प्रतिफल उनीहरुको आत्म सन्तुष्टि पनि हो । त्यसैले पनि स्वास्थ्यकर्मीहरुलाई रोगले ग्रसित बिरामी र उनका आफन्तजनले जीवित इश्वरका रुपमा लिने गरेको पाइन्छ ।
आम मानिस घरबाट बाहिर निस्कन नसकेको, मानिस देखि मानिस डराउनु पर्ने अस्थामा रात दिन नभनि अहोरात्र बिरामीका लागि खटिने स्वास्थ्यकर्मी माथि बेला बेला हुने आक्रमण र दुर्व्यवहार आफैमा दुखद छन् । संक्रमणको यो विषम समयमा ब्यक्ति, समाज र राष्ट्रले थप प्रोत्साहन भत्ता दिएर हौसला र माया गर्नु पर्नेमा उल्टो यस्ता घटना हुन जादा उनीहरुको मनोबल घट्ने देखिन्छ ।
साथै घटना जो कोहिले गरेको भएतापनि छानबिनका लागि गठित समितिले निष्पक्ष रुपमा घटनाको छानबिन गरी दोषी माथि कारवाही गर्नु पर्दछ । र प्रतिवेदनले आफ्ना सुझावमा स्वास्थ्य क्षेत्रमा समय समयमा हुने यस्ता कार्यको दिर्घकालिन अन्त्यका लागि गहकिला सुझाव समेत दिनु पर्दछ । साथै बेला बखत समाचारमा आउने स्वास्थ्यकर्मी र सो पेशामा आबद्ध पेशाविदबाट उपचारका क्रममा गर्ने गम्भीर लापरवाही र बिरामी तथा निजका आफन्तजन प्रति हुने दुर्व्यवहारका बिषयलाई समेत अस्पताल प्रशासनले गम्भीरताका साथ लिनै पर्दछ ।