सरकार ! हामिले लगाएको तरकारी बारीमै कुहिन लागे- बर्दियाका तरकारी कृषक
बर्दिया । विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीबाट नेपालका सबै क्षेत्रमा असर परिरहेको अवस्थामा जिल्लाका साना तरकारी व्यवसायी तथा किसानहरुपनी समस्यामा पर्नुभएको छ ।
तरकारी खेती तथा बेचबिखन गरेर आफ्नो आय-आर्जन गरि घरपरिवारको गुजारा चलाउँदै आउनुभएका यहाँका किसानहरुको खेतबारीमा तरकारी कुहिँदा आयश्रोत ठप्प भएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले बिहान ७ बजेदेखि ९ बजेसम्म अतिआवश्यक बस्तु बिक्रीका लागि समय तोकेपनी तरकारी खपत हुननसक्दा तरकारी बारीमै कुइन लागेको यहाँका किसानहरुको गुनासो छ ।
कृषक टेकराज न्यौपाने
मधुबन नगरपालिका वडा नं.-२ रज्वाराका कृषक टेकराज न्यौपाने भन्नुहुन्छ, "तरकारी बिक्रि नभएपछि हामीले लगाएको लगानी समेत उठाउन मुस्किल भएको छ । पहिलो लकडाउन देखिनै हाम्रा खेतबारीमा उत्पादन भएका तरकारी बिक्री गर्न सकेका छैनौँ । मैले विभिन्न किसिमका तरकारी १३ कठ्ठामा लगाएको थिए तर सबै कुहिएर गए । केहि साथिभाईहरुलाई तरकारी बाँडे । तरकारी सबै बुटामै कुइन लागेपछी गाइगोरुलाई समेत खुवाएँ । पहिले प्रत्यक सिजनमा ६०/७० हजार बराबरको तरकारी बेचिन्थ्यो भने अहिले लगानी र आफ्नो मेहनत समेत उठाउन मुस्किल परेको छ। तरकारी प्रति किलो रु.८ मा बेच्दा पनि बिक्री हुदैन । यहि तरकारी खेतिले हामि ५ जनाको परिवारको गुजारा चल्दै आएको थियो ।"
कृषक खुशाल थापा
अर्का कृषक खुशाल थापाको समस्यापनी उस्तै रहेको छ, थापा प्रश्न गर्नुहुन्छ, "१० कठ्ठामा लगाएको तरकारी बारीमै कुहिन लागेकाले अत्यन्तै दुखी छु । यस्तो समयमा हामि कृषकलाई सरकारले सामान्य राहत उपलब्ध गराईदिएको भए राम्रो हुन्थ्यो तर हाम्रो कुरा कस्ले सुनिदिने ?"
कृषक रवना थारु
त्यस्तै तरकारी कृषक रवना थारु भन्नुहुन्छ, "१ कठ्ठामा लगाएको टमाटर बिक्री नहुँदा सबै कुहिएर र सुकेर गयो । मेरो लगानी र मेहनत सबै दोस्रो लहरको लकडाउनले खाईदियो । तरकारी खेतीबाटनै मेरो परिवारको स-साना समस्याहरु समाधान हुन्थ्यो । हामि गरिब र साना कृषकहरुले हाम्रो समस्याहरु कस्लाई सुनाउने हाम्रा कुरा सुनिदिने को ?"
कृषक भुपाल न्यौपाने
तरकारी कृषक भुपाल न्यौपानेको समस्यापनी यस्तै छ, भन्नुहुन्छ, "१.५ कठ्ठामा तरकारी लगाएको छु बिक्री नभएर कुहिन लागिसके हाम्रो लागी बजार खोजि दिनु पर्यो हामि साना तरकारी कृषक हौँ त्यसैले ठुला-ठुला शहर नेपालगन्ज-काठमाडौँ तरकारी पुर्याउन सक्ने हाम्रो क्षमता छैन, समस्या समाधान गरीदिन स्थानीय सरकारलाई हाम्रो अनुरोध छ ।"
यहाँका किसानहरुले पहिले ठाकुरद्वारा, ताराताल र ओरालि बजार लगेर तरकारी बिक्री गर्ने गरेतापनि हाल त्यसो गर्न नसकिएकोले तरकारी बारीमै सड्न लागेका छन । लकडाउन सुरु भएसंगै पर्यटक आउन बन्द हुँदा यहाँका साना-ठुला सबै प्रकारका होटेलहरु बन्द भएपछि तरकारी खपत हुन छाडेको हो ।