काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वमन्त्री प्रेमबहादुर सिंह,अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टीमा प्रवेश गराउनुभएको छ ।
पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको समाजवादी जनता पार्टी एमालेमा समाहित भएको छ । सिंह पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री हुनुहुन्थ्यो ।
अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहेता पनि पछिल्लो समय निष्क्रिय रहनुभएको थियो ।
मंगलबार काठमाडौँमा पूर्वमन्त्री सिंह,अभिनेत्री मानन्धरलगायतलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने भन्दै तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
अध्यक्ष ओलीले पूर्वमन्त्री प्रेमबहादुर सिंह,अभिनेत्री करिश्मा मानन्धरलगायतलाई एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा अध्यक्ष ओलीले मधेशले समृद्धि खोजेकोले सो काम एमालेले मात्रै पूरा गरेर देखाउने सक्ने बताउनुभयो ।
अध्यक्ष ओलीले जय मधेश भन्ने नारानै एमालेले स्थापित गरेको दाबी गर्नुभयो । उहाँले एमाले नेतृत्वको सरकारले मधेशको विकासका लागि काम गरेको बताउनुभयो ।
उहाँले सिंगो देशको हित गर्ने एमाले एक मात्र पार्टी भएकाले प्रवेश गरेकाहरुको हित नहुने भन्ने हुनै नसक्ने तर्क गर्नुभयो ।
अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरुको जनलहर नै चलेको उल्लेख गर्दै आफ्नो पार्टीले देशको हितमा काम गरिरहेको र आगामी दिनमा पनि गर्दै जाने बताउनुभयो ।