देउखुरी । दाङमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई केन्द्रित गरेर योग शिक्षा शिविर सञ्चालन गरिएको छ । विद्यालयमा पठनपाठनको साथै निःशुल्क योग सिक्न पाएपछि विद्यार्थी उत्साहित भएका छन ।
प्रमिला घर्तीमगर जनज्योती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । विद्यालयमा नीयमित पठनपानको साथ साथै निःशुल्क योग कक्षा सञ्चालन गरेपछि उहाँ योग कक्षामा सहभागी हुदै आउनुभएको छ ।
योग अभ्यासबाट शरिर र मन दुवै स्वस्थ राख्न मद्धत पुग्ने भएकाले विद्यार्थी तथा अभिभावकलाई केन्द्रित गरेर योग कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक केशवराम यादव बताउनुभएको छ ।
जनज्योती माध्यमिक विद्यालय वेलाले पतञ्जली योग सममिति लमहीको सहकार्यमा विद्यार्थी केन्द्रित निःशुल्क योग कक्षा सुरु गरेको छ । जसबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी लाभान्वीत भएका छन् ।
माध्यमिक तह सम्म अध्ययरत विद्यार्थीलाई योग अभ्यास गराउने गरिएको छ । विद्यालय तहको पाठ्यक्रममा योग शिक्षालाई समावेश गर्नुपर्ने पतञ्जली योग लमही नगर समितिका अध्यक्ष भेषराज भट्टराईले बताउनुभयो ।
विद्यार्थीहरुको माध्यमबाट समुदायमा योग शिक्षा पुर्याउन सजिलो हुने भएको छ । योगको माध्यमबाट मानिसलाई शारिरीक र मानसिक रुपमा स्वस्थ बनाउन सकिने भएकाले योग शिक्षालाई समुदाय केन्द्रित गर्नुपर्ने राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको भनाइ छ ।
निसुल्क योग बिज्ञान शिविर एक हप्ता सम्म संचालन हुने पतन्जली जिल्ला युवा महासचिव योग प्रशिक्षक कमल अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा लमही पतन्जली योग समिति अध्यक्ष भेष भट्टराई , समितिका दाङ जिल्ला सदस्य काली प्रसाद चौधरी, पतन्जली लमही नगर सदस्य धुर्ब पान्डे लगाएतको उपस्थीती रहेको थियो । विद्यार्थी केन्द्रित योग शिक्षालाई व्यापक बनाउन स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।