काठमाडौँ । सुन्धारास्थित धरहरालाई पर्पल कलरले सजाएर छारे रोगसम्बन्धि सचेतना फैलाइएको छ । शनिबार, चैत १२, २०७८ साँझ छारे रोगसम्बन्धि सचेतना फैलाउन तथा रोगसम्बन्धि विभिन्न भ्रमहरुलाई चिर्न विभिन्न लाइटहरुको प्रयोग गरेर धरहरालाई पर्पल (बैजनी) रंगको बनाइएको थियो ।
मार्च २६ का दिन मनाइने विश्व छारे रोग सचेतना दिवसको अवसरमा महाराजगञ्जस्थित नेशनल न्युरो सेन्टर र इपिलेप्सी फाउन्डेसन अफ नेपालको संयुक्त आयोजनामा धरहरालाई पर्पल कलरले सजाइएको हो । पर्पल २६ नेपालको अवधारणामा आधारित रहेर छारेसम्बन्धि सचेतनामुलक सामग्री धरहरामार्फत देखाइएको आयोजकहरुले जनाएका छन ।
छारेसम्बन्धि धेरै भ्रम र अन्धविश्वास रहेकाले नेपाली समाजमा ती भ्रम चिर्न धरहरालाई पर्पल कलरले सजाएर सचेतनामुलक सामग्री प्रदर्शन गरिएको हो ।
त्यस्तै धरहरालाई पर्पल कलरले सजाएर सचेतना फैलाउने कार्यक्रम पश्चात् ज्ञानेश्वरस्थित एटिक होटलमा न्युरोलोजिष्ट तथा मनोरोग विशेषज्ञहरुले छारे रोगका बारेमा प्रस्तुति दिनुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल पक्षघात संघका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. राजुु पौडेल, नेशनल न्युरो सेन्टरका निर्देशक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापा, उपनिर्देशक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. सुमन भट्टराई, मनोरोग विशेषज्ञ डा. आशिष दत्त, डा. अभिषेक श्रेष्ठ, डा. मोनिका थापा, डा. नारायण भुसाल, डा. उपासना मानन्धर लगायतका विशेषज्ञ तथा चिकित्सकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि आइओएमका पूर्व डिन तथा मस्तिष्क रोग विशेषज्ञ डा. जेपी अग्रवाल रहनुभएको थियो ।
त्यस्तै नेशनल न्युरो सेन्टर, नेपाल पक्षघात संघ र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा सञ्चालन गरिएको छारे रोगसम्बन्धि लेखनवृत्ति कार्यक्रममा सहभागि ७ जना स्वास्थ्य पत्रकारलाई नगद र प्रमाणपत्रसहित पुरस्कृतसमेत गरिएको स्वास्थ्य पत्रकार तथा राइज मिडियाका प्रमुख संवाददाता महेश तिमल्सिनाले जानकारी दिनुभयो । पुरस्कृत हुने पत्रकारहरुमा बुनु थारु, शरद शर्मा, समृद्धा केसी, प्रज्ञा तिमिल्सिना, माया श्रेष्ठ, अजिता रिजाल र अस्मिता रिजाल रहनुभएको छ ।
जसरी धरहरा ढलेर पुन उठ्यो त्यसरीनै सहि समयमा उपचार गरे छारे रोगका बिरामी पुन स्वस्थ हुनसक्छ्न, पुन उठेर निरन्तर जीवन बाँच्न सक्छन भन्ने सोँचका साथ नेशनल न्युरो सेन्टर, नेपाल पक्षघात संघ र स्वास्थ्य पत्रकार मञ्चको समन्वयमा कार्यक्रम गरिएको पत्रकार तिमिल्सिनाले बताउनुभयो ।
उक्त सचेतना कार्यक्रममा चिकित्सक, नर्स, बिरामीका आफन्त लगायत संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।