लुम्बिनी । (नेकपा एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय टावरको आज उद्घाटन गर्दै आफ्नो पालामा गाँउगाँँउमा विकासको लहर पुर्याएको भन्दै कुनैपनि जिल्ला दुर्गम नरहेको दाबी गर्नुभएको छ ।
अध्यक्ष ओलीले एमाले सरकारका पालामा जमिनमा मात्रै नभइ समुन्द्र र अन्तरीक्षमा समेत नेपालले आफ्नो स्पेस बनाउन सफल भएको दाबी गर्नुभयो ।
उहाँले एकै खालको विकासको मोडलले समृद्धि नआउने भन्दै तिलोत्तमाको भ्युटावर नयाँ र बहुआयामिक भएकाले नगरको पर्यटकीय विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
देशमा उपलब्ध साधन श्रोतको सहि सदुपयोग गदै तीनलाइ सिँगारेर चिटिक्क बनाइ पर्यटकीय विकास गर्नू पर्नेमा उहाँले जोड दिनुभयो । उपभोग्य बस्तु उत्पादनमा स्थानीय तहरुले विशेष ध्यान दिनुपर्ने र खाद्यान्नमा आत्मनिभर्र हुने गरी कृषि क्षेत्रको विकासमा लाग्न सुझाव दिनुभयो ।
भैरहवासहितका मुख्य नाकाहरुबाट अर्बौको खाद्यान्न आयात भइरहकेो भन्दै उहाँले त्यसलाइ घटाउन कृषि क्षेत्रको विकास अपरिहार्य भएको बताउनुभयो ।
नगर प्रमुख बासुदेव घिमिरेले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको गौरव र गहना भएको बताउँदै आम्दानीको महत्वपूर्ण स्रोत हुने दावी गर्नुभयो । नगर उपप्रमुख जागेश्वरी चौधरी, नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले लगायतले भ्यू टावरले तिलोत्तमाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।
एघार तले भ्यूटावर १ सय ३४ फिट अग्लो छ । २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा निर्माणाधिन टावरको लागत लागत ११ करोड ४५ लाख रहेको नगरपालिकाले जनाएको छ । जसमध्ये नगरपालिकाको ७० प्रतिशत र शंकरनगर वन विहारको ३० प्रतिशत लगानी हो ।
यसलाइ धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनेर नगरपालिकाले दावी गरेको छ । भ्यू टावरको ६ वटा तला व्यवसायिक प्रयोजनमा प्रयोग हुने र माथिका बाँकी तलाबाट दृष्यावलोकनको व्यवस्था मिलाइने छ ।
लिफ्ट सुविधासहित बनेको टावरसँगै दुई विगाहा क्षेत्रफलमा अन्य पर्यटकीय संरचना बनाइने नगरपालिकाका इन्जिनीयर प्रदिप वनले बताउनुभयो । टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्डेसन, चाइल्ड पार्क र स्टेडिएम निर्माण गरीने वनले जानकारी दिनुभयो । टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिने छ र दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिने दावी गरीएको छ ।