बर्दियामा कोभिड-१९ का बिरामीहरुलाई नि:शुल्क खाना खुवाउँदै विकासप्रेमी युवा समुह
बर्दिया । कोभिड–१९ को दोस्रो लहरको महामारी देशव्यापीरूपमा फैलिएसँगै बर्दियालि युवाहरु एक जुट भै मधुबन नगरपालिकामा रहेको अस्थाई कोभिड अस्पतालमा नि:शुल्क खाना खुवाउँदै आइरहेका छ्न । "कोरोना भाइरस महामारीमा जिवन रक्षाका लागि हाम्रो प्रयास" भन्ने नारा सहित कोभिड-१९ का बिरामी र कुरुवाहरुलाई विकासप्रेमी युवा समुह मधुबनले नि:शुल्क खाना खुवाउँदै आएको छ ।
युवा समुह बर्दिया जिल्ला समन्वय संयोजक समिप लम्सालका अनुसार महामारीको बेला लकडाउनका कारण सबै होटेलहरु बन्द रहेकाले बिरामी तथा कुरुवाहरुलाई खानाको धेरै समस्या देखिएपछि आफुहरु एकजुट भै बिरामी र बिरामीका कुरुवाहरुलाई निसुल्क खाना खुवाउँदै आएको बताउनुभयो ।
विकासप्रेमी युवा समुह बर्दिया जिल्ला समन्वय संयोजक समिप लम्साल
"धेरै टाढा टाढाका बिरामीहरुले खाना ल्याउन नसक्ने अवस्था देखेपछि अत्यन्तै दु:ख लाग्यो, हामी युवाहरुले केहि गर्न सकिन्छ भनि छलफल गरेर विकासप्रेमी युवा समुह मधुबन नगरपालिका नगर संयोजक रामबाबु सुबेदि, उपाध्यक्ष रेशम चन्द र सरोज चन्द लगायतका साथीहरुको संयुक्त प्रयासमा हामीले यो कार्य सुरु गरेका हौँ ।" संयोजक लम्साल भन्नुहुन्छ, "हाल सम्म कतैबाट पनि चन्दा उठाएका छैनौँ । केही साथीहरुले स्व:ईच्छाले सहयोग गरिरहनु भएको छ । यसै क्रममा बर्दिया जिल्लाबाट वैदेशिक रोजगारीमा गएका मनकारी व्यक्तित्वहरुले रकम संकलन गरी पठाउने तयारी भैरहेको छ ।"
त्यस्तै उहाँले मधुबन नगरपालिका वडा नं. १ कुसुम्मा निवासी हाल बेलचोक नारायणघाट बस्ने मनकारी सहयोगी बिदुर प्रसाद लम्सालले आभियानलाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो । नारायणघाट बस्ने बिदुर प्रसाद लम्सालले नेपाल कागज डट कमका बर्दिया प्रतिनिधि मार्फत ५ हजार रुपैयाँ बिकासप्रेमि युवा समुह मधुबनलाई सहयोग गर्नुभएको थियो ।
नारायणघाट बस्ने मनकारी सहयोगी बिदुर प्रसाद लम्साल
अस्थाई कोभिड अस्पतालमा उपचाररत एक कोरोना संक्रमित भन्नुहुन्छ, "के गर्ने बाबू भोको पेट बस्न नसकिँदो रहेछ । उपचार गर्न त घरबाट यहाँ आयौँ तर लकडाउनले गर्दा यहाँका होटेलहरु बन्द छन; घर टाढा छ । भोकै बस्नु पर्ने अवस्थामा हामिसबै बिरामी र परीवारलाई खाना खुवाउने मानव सेवामा लागेका बिकासप्रेमी युवा समुहका बाबु-भाईहरुलाई धेरै धेरै धन्यवाद छ ।"
विकासप्रेमी युवा समुहले दुई छाकको निशुल्क खाना ब्यवस्था गरेको छ । कोरोना संक्रमित सुगर बिरामीहरुलाई रोटिको ब्यवस्था गरिएको समुहका मधुबन नगरपालिका नगरकमिटि संयोजक रामबाबु सुबेदिले बताउनु भयो । कोभिड -१९ का बिरामी तथा कुरुवाहरुलाई समय व्यतित गर्न र आफ्ना आफन्तिसङ्ग कुरा गर्न सहज होस भन्ने अभिप्रायका साथ युवा समुहले कोभिड अस्थाई अस्पतालमा फ्री वाई-फाई जडान गरेको विकास प्रेमी युवा समुहका जिल्ला समन्वय संयोजक समिप लम्सालले बताउनुभयो ।