फाइल तस्वीर
चन्द्रौटा । सात वर्षीय सकिल अहमद हातभरि हिलो छोपेर माटो मुछिरहेका छन् । हिलो माटोलाई डल्लो बनाएर इँटा बनाउने साँचोमा हाल्नमा उनी ब्यस्त छन् ।
सकिलको दैनिकी यसैगरी चलिरहेको छ । उनको शरीर पनि हिलाम्मे भएको छ । उनीसँगै परिवारका अन्य सदस्य पनि इँटा बनाउन ब्यस्त छन् ।
उनी विद्यालय र कापी किताबबारे अनविज्ञ छन् । सकिलको परिवार भारतको बरेलीबाट रोजगारीका लागि यहाँ आएको हो ।
उनको परिवार कपिलवस्तुको फाइबस्टार इँटा उद्योगमा इँटा बनाउने काम गर्छ । सकिल दिनभरी इँटा बनाउँछन् ।
बालबालिकालाई श्रममा लगाउन नपाइने भए पनि जिल्लाका अधिकांश इँटा उद्योगमा परिवारसँगै उनीहरु पनि इँटा बनाउने गर्छन् ।
विद्यालय जाने उमेरका बालबालिका इँटा बनाउनमा ब्यस्त देखिन्छन् । खासगरी भारतीय बालबालिका इँटा उद्योगमा मजदुरी गर्दैआएका छन् ।
भारतको बरेलीबाट सपरिवार मजदूरी गर्न आएका अम्जद खानका १६ वर्षीय छोरा करम र १३ वर्षीय रुक्सान परिवारसँगै इँटा उद्योगमा काम गर्दै आएका छन् । नेपाल आउनु अघि करम भारतमा अध्ययन गर्थे । नेपाल आएपछि उनले पढ्न छोडेको बताए ।
नेपालमा धेरै भारतीय नागरिकका छोराछोरीले इँटा उद्योगमा काम गरिरहेको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । बालबालिकालाई काम गर्न लगाउने इँटा उद्योगको नवीकरण नगरिने उहाँ बताउनुहुन्छ ।
दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियार श्रमिकका बालबालिकाको शिक्षाका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुहुन्छ ।
शिवराजसँगै महाराजगञ्ज र बुद्धभूमि नगरपालिकाका इँटा उद्योगमा ४०० भन्दा बढी बालबालिका इँटा उद्योगमा काम गर्छन् ।
शिवराज नगरपालिकाले इँटा उद्योगमा कार्यरत बालश्रमिकलाई अनौपचारिक शिक्षा प्रदान गर्न तीनमहिने कक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।