बर्दिया । २०७९ साल बैशाख ६ गते देखि देशभर कृषि गणना कार्यक्रम सुरुहुने भएको छ । बर्दियाको गुलरीयामा आज भएको एक कार्यक्रमका बीच कृषि गणना कार्यक्रमका प्रमुख दान बहादुर ऐडिले बैसाख ६ गते देखि देशभर कृषि गणना सुरु गरिने तयारी रहेको बताउनुभयो ।
कृर्षि गणना कार्यक्रमका प्रमुख ऐडिका अनुसार देशभरका १३ हजार ५ सय ७८ कृषि गणना क्षेत्रमा ३ लाख ५० हजार परिवारमा कृषि गणना हुनेछ ।
बर्दिया जिल्लामा भने २०४ वटा कृषि गणना क्षेत्र रहेको छ । एउटा वडालाई २-३ क्षेत्र बनाउने अथवा दुई देखि तीन सय घरको एउटा खण्ड बनाएर गणना गर्ने कार्यक्रमका प्रमुख दान बहादुर ऐडिले बताउनु भयो ।
त्यसैगरी कृषि गणनाको ४ वटा क्राइटेरिया (मापदण्ड) बनाइएको छ । जसमा आफ्नो जग्गामा कृषि खेति गरेको हुनु पर्ने, घरमा एउटा ठुलो टाउको भएको गाई अथवा भैसी पालेको हुनुपर्ने, ५ वटा साना टाउको भएको भेडा अथवा बाख्रा पालेको हुनु पर्ने र २० वटा सम्म पशुपंक्षी पालेको छ भने त्यस्ता परिवारलाई कृषक परिवारको रुपमा गणना गरीने मापदण्ड रहेको प्रमुख ऐडिले बताउनु भयो ।
वि.स २०१८ साल देखि कृषि गणना गर्न सुरु गरिएको हो भने अहिले सातौँ पटक गणना हुदैछ । कृषि गणनामा घर परिवारले गरेको कृषि काम, संस्थाहरुले गरेको कृषि काम, वडा स्तरमा गरेको सामुहीक कृषि जस्ता कामको गणना पनि गरीने छ ।
त्यस्तै जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कृषि गणना समन्वय समिती रहने छ भने पालिका स्तरमा पालिका उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा कृषि गणना समन्वय समिती रहने छ ।
प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलको अध्यक्षतामा भएको जिल्ला स्तरीय कृषि गणना सचेतना गोष्ठीमा जिल्ला स्तरका कार्यालय प्रमुख, प्रतिनीधी, गैरसरकारी संस्थाका प्रतिनीधी तथा पत्रकार/संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।