काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने बताउनुभएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले श्रीलंका र नेपालको ऋणको, उत्पादन क्षेत्र, विदेशी लगानी र ऋण सहायताको कुरालाई हेर्दा समेत तुलना हुने कुरा नभएको बताउनुभयो ।
मन्त्री शर्माले अहिले केही मानिसहरुले नेपाललाई श्रीलंका बनाउन खोजे पनि आफूले उनीहरुको सपना पूरा गर्न नदिने बताउनुभयो ।
उहाँले विलासिताका सामानमा सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताउनुभयो ।
उहाँले मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको बताउनुभयो । उहाँले सरकारले बनाएका नीतिमा नै समस्या रहेको बताउनुभयो ।
अर्थमन्त्री शर्माले प्रविधिले नेपालको अर्थतन्त्रमा फाइदासँगै बेफाइदा पुर्याइरहेको बताउनुभयो ।
उहाँले ती प्रविधिले पुर्याएको चुनौतीको सामना गर्न तयार हुनुपर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले क्रिप्टो करेन्सी र हाइपर फण्डबारे आफूलाई खासै जानकारी नभएको पनि उल्लेख गर्नुभयो ।
अर्थमन्त्री शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिएका नयाँ चुनौतीको समाधान गर्ने गरी सरकारले नयाँ प्रविधिको विकास गर्न जरुरी रहेको बताउनुभयो ।