बर्दिया । जिल्लाको बाँसगढी नगरपालिकामा स्वच्छ दूध उत्पादनका लागि उन्नत भैंसीपालन व्यवसायको विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत नेपाल लाइभ सेक्टर इनोभेसन बिकेन्द्रीकृत आयोजना बाँसगढी कृषि फार्म प्रा.लि.को बाँसगढी नगरपालिका ६ सतरियामा सार्वजनिक सुनुवाइ सञ्चालन भएको हो ।
८८ लाख ८ हजार ३०६ रुपैयाँ लागतमा सञ्चालन भैरहेको स्वच्छ दुध उत्पादनका लागि उन्नत भैंसीपालन गर्ने समुह लगायतको सहभागिता रहेको कार्यक्रममा उपआयोजना सञ्चानले दुध उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, स्वरोजगार सिर्जना गर्ने, उत्पादित दूधको उचित बजार व्यवस्थापन गर्ने, समुहका सदस्यहरूको आयस्तरमा सुधार ल्याउने विश्वास गरिएको छ ।
कार्यक्रमको उद्घाटन बाँसगढी नगरपालिका वडा न ६ का वडा सदस्य लाल बहादुर थारूले गर्नु भएको थियो ।
बाँसगढी कृषि फार्म प्रा.लि.का अध्यक्ष जगत बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा भैंसी पालनले दूधको उत्पादन बढाउने मात्र नभएर समुहका सदस्यहरूको जीवनस्तरमा समेत सुधार ल्याउनेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए ।
उप आयोजनका लागि ४४ लाख ३८४, बैंकबाट २६ लाख २ हजार रुपैयाँ ऋण लिइने, बाँसगढी कृषि फार्म प्रा.लि. कृषि सहकारी संस्थाको १७ लाख ८७ हजार ९२१ लगानी गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।
गत चैत देखि आगामी मंसिर महिना सम्म सञ्चालन हुने उप आयोजनाबाट १ लाख ८ सय लिटर दुध उत्पादन गर्ने लक्ष्य रहेको सार्वजनिक सुनुवाइमा जानकारी गराइएको थियो ।
कार्यक्रममा कृषि फर्म प्रा.लि.का प्रबन्धक ईन्द्रजित बुढा क्षेत्री, प्रधानाध्यापक, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन झलक मल्लले गर्नुभएको थियो ।