बर्दिया । जिल्लाको बाँसगढी नगरपालिकाका किशोरीहरू ट्याग परियोजना मार्फत सचेत प्राविधिक ज्ञानले भरिपूर्ण बन्दै गएका छन् । त्रिभुवन सामुदायिक पुस्तकालयको आयोजना र रिड नेपालको आर्थिक सहयोगमा भएको एक कार्यक्रममा सरोकारवाला सहभागीहरूले यस्तो बताएका हुन ।
रिड नेपाल संस्थाद्वारा सञ्चालित ट्याग परियोजनाले बाँसगढी नगरपालिकाका किशोरीहरूसँग सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । रिड नेपाल संस्थाले सन २०१९ अगस्टमा त्रिभुवन सामुदायिक पुस्तकालयमा अध्ययनरत ९ देखि १२ कक्षाका किशोरीहरू र पढाई छोडेका १४ देखि २२ वर्ष उमेर समुहका गरी जम्मा ५० जना किशोरीहरूलाई छनौट गरेर यो कार्यक्रम शुरु गरेको थियो ।
तीन चरण गरेर सञ्चालन गरेको रिड नेपाल संस्थाले ट्याग परियोजना दोस्रो चरणको लागि सन् २०२१ मार्च मा २७ जना किशोरीहरूलाई छनौट गरेको थियो । त्यसमध्ये २ जना किशोरीहरू तेस्रो चरणमा चयन भएका छन् ।
ट्याग परियोजनाका संयोजक पार्वती मल्लका अनुसार पहिलो चरणमा सूचना तथा प्रविधिसम्बन्धी ज्ञान, दोस्रो चरणमा कम्प्युटर सहितको प्राविधिक ज्ञान, तेस्रो चरणमा कम्प्युटर सहितको प्राविधिक ज्ञान र समुदायमा देखापरेको समस्या पहिचान तथा समाधानका लागि गर्नु पर्ने काम बारे तालिम दिइएको छ ।
त्यस्तै रिड नेपाल संस्थाका प्रतिनिधि तथा एरिया संयोजक भाग्यश्री बिष्टले सामुदायिक पुस्तकालयको विकास गर्न र किशोरीहरूको ज्ञान, सीप र समुदायका समस्या पहिचान तथा समाधानमा दक्ष बनाउने मुख्य लक्ष्यले यो कार्यक्रम आएको बताउभयो ।
बासगढी नगरपालिकाको ४ वटा विद्यालयहरू त्रिभुवन मावि ककौरा, पुर्णहिरा मावि लक्षमणा, रामजानकी मावि भैसासुर र जनप्रिय मावि दमौली गरेर ५० जना किशोरीहरू ट्याग परियोजनामा सहभागि भएका थिए ।
कार्यक्रममा ट्याग परियोजनालाई सफल पार्न सहयोग गरेकोमा त्रिभुवन सामुदायिक पुस्तकालय ककौराले ट्याग परियोजनाका ५० जना किशोरी, २ जना मनिटर र ४ वटा विद्यालयका प्रधानाध्यापकहरूलाई प्रमाणपत्र वितरण गरेको थियो ।
पुस्तकालयका अध्यक्ष नविन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बासगढी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक तुलप्रसाद गौतम, पुस्तकालय सञ्चालक समितिका पदाधिकारी, किशोरी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालन पुस्तकालयका कोषाध्यक्ष यज्ञ बहादुर वलीले गर्नु भएको थियो, भने पुस्तकालयका उपाध्यक्ष सारदा आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो ।