नयाँ वर्षको शुभकामना ! राष्ट्रिय राजनैतिक उतार चढाब, कोभिडको विश्वव्यापी भय, विश्व रङ्गमञ्चमा ठुलो मुलुक रसिया र सानो छिमेकी मुलुक युक्रेन बिचको युद्ध लगायतका मुख्य घटनाक्रमको अनुभूति सहित २०७८ साल आज बाट बिदा भएको छ ।
बितेका राष्ट्रिय एवं अन्तराष्ट्रिय घटनाले चोट र पीडा मात्र नदिएर केही सिक्ने, बुझ्ने र सुध्रिने सन्देश पनि दिएको हुन्छ । भनिन्छ "प्रत्येक बिहानीले नयाँ अवसरको ढोका खोलेर आउने गर्दछ" । त्यसैले पनि यो नयाँ वर्ष हामी सबैको लागि सुखद र फलिफाप वर्षको रुपमा रहोस् ।
विगतका गल्ति कमजोरीबाट शिक्षा लिई आगामी दिनमा सुमार्गमा हिँड्न सकियोस् । मुख्य गरि छोटो समयमा यस अनलाइन पत्रिका "नेपाल कागज" प्रति देखाउनु भएको माया, स्नेह र सदभावका लागि हाम्रा सम्पूर्ण पाठकवृन्द, शुभेच्छुक र विज्ञापनदाता प्रति हार्दिक हार्दिक शुभकामना र आभार व्यक्त गर्दछु ।
यहाँहरूको सुझाव सरसल्लाह र प्रतिक्रियाको सदैव अपेक्षा पनि गर्दछु । आगामी दिनमा यस पत्रिकालाई अझै प्रभावकारी बनाई पाठकको रूचि अनुसार लैजाने सोच रहेकोले सोका लागि समेत सम्पूर्ण पाठक मित्रहरूको सुझावको आशा गरेको छु ।
दिन पछि रात, हिउँद पछि वर्षा भए झैँ पुरानो वर्ष पछि नयाँ वर्षको आगमन निश्चित छ । तर समयको गतिले विगतलाई बिर्साउने मात्र होइन विगतबाट सिकेका अनुभव र शिक्षाले आउने दिनमा सही बाटोमा हिँडाउन पनि सिकाउँछ ।
त्यसैले ज्ञानी बुद्धिमान मानिसले विगतका गल्तीलाई भविष्यको शिक्षाको रुपमा अनुसरण गर्दछन् । हामी आम मानिस र राष्ट्ररूपी गाडीको नाइके राजनीतिकर्मीले पनि विगतका घटनाबाट पाठ सिकेर देशलाई सुमार्गको बाटोमा लैजानु पर्दछ ।
इतिहासमा कहिल्यै नहारेको नेपाली मनले आज किन रोग, भोग, अशिक्षा, गरिबी, पछौटेपन जस्ता आममानिसका शत्रुलाई परास्त गर्न सकेन ? किन आज हामी अरुको आस र ऋणको भोको छौँ ? हामी सबै गम्भीर हुनु पर्दछ । आजैको नयाँ बिहानीसँगै सबै नेपाली मनले एउटा बाचा गर्नु पर्दछ । त्यो भनेको आफूले आफैलाई सुधार गर्ने हो । आफ्ना कमजोरी र गलत बानी व्यवहारलाई सुधार गर्नु हो ।
प्रत्येक नेपाली मन पवित्र हुनु नै मुलुक सुशासनको मार्गमा अगाडि बढ्नु हो । राजनीतिकर्मी, बुद्धिजीवी, ब्यापारी, कर्मचारी, पेशाविद, बिद्यार्थी, आम नागरिक चरित्रवान हुनु भनेको नयाँ बिहानीको सुरुवात हुनु हो ।
अत: स्थानीय चुनावको यस पवित्र सङ्घारमा सबै सबैले आ-आफनो मर्यादामा रही शान्तिपूर्ण तरिकाले सहभागी हुने र असल नेतृत्वको चयन गर्ने परिस्थिति बनोस । सबै सबैमा पुन: शुभकामना ।