आज हामी माओवादी क्रान्तिको ज्वारभाटामा खारिएकी एक जना क्रान्तिकारी महिलाको चर्चा गर्दैछौँ । ति महिला जसले आफ्नो एक अध्याय देश जनता र युग परिवर्तनको लागि खर्च गरिन । त्यो जीवन नाफाको थियो या घाटाको, आगामी समयले बताउने छ नै । तर इतिहास साक्षी छ जसले देशलाई जीवन समर्पण गरेको छ उ सँधै इतिहासमा अमर छ । हो आज हामी त्यस्तै अमर इतिहास रचेकी बर्दियाली छोरी मेनकाको कुरा गर्दैछौँ ।
बर्दिया । तत्कालीन जनयुद्धको बखत बाल विद्यार्थी नेता, बाल पत्रकारको रुपमा काम गरेर नाम, इज्जत र प्रतिष्ठा आर्जन गरिसक्नुभएकी मेनका चौधरीलाई अब आउने स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले मेयरका रूपमा अघि सार्ने चर्चा स्थानीय स्तरमा सुरु भइसकेको छ ।
नहोस् पनि किन, अघिल्लो निर्वाचन मै पार्टीको जिल्ला सङ्गठनले उहाँलाई संघीय समानुपातिक सांसदमा थारू कोटाबाट तेस्रो नंबरमा सिफारिस गरेको थियो ।
लुम्बिनी प्रदेशबाट मेनका चौधरी सिफारिस भएता पनि अन्तिम अवस्थामा उहाँलाई पार्टीद्धारा अपहेलित गरी समावेश नगरेता पनि सदैव पार्टी तथा जनताको सेवामा सक्रिय रहेको हुँदा हाल उहाँको सम्भावना प्रबल देखिन्छ ।
स्थानीय स्तरमा सन्तुलन मिलाउन पाँच वर्ष अघि स्थानीय तहको चुनावमा उहाँले कुनै पदमा उपमेयर मेयर बन्न राजी हुनुभएन र माग्न पनि माग्नुभएन
।
‘पार्टीको निर्णय नै सर्वोपरि हुनेछ’, चौधरी भन्नुहुन्छ, ‘टिकट पाए भने मैले देश र जनताको सेवामा समर्पित भई काम गर्ने बाचा गर्दछु । यो अवधिभर मैले गरेको काम पार्टीले पनि मूल्यांकन गरेको होला ।’
ऐतिहासिक १० वर्षीय जनयुद्धमा बाल विद्यार्थी नेता, बाल पत्रकार, थारू पत्रकारको रुपमा काम गरेर चौधरीले देश, जनता, समाज र माओवादी पार्टीलाई आफ्नो योगदान दिएको सर्वविदितै छ ।
उहाँ जनयुद्ध कालमा लडाकुबाट जनमुक्ति सेनाको कमान्डर बन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सातौँ हेटौँडा महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य भइसक्नुभएको छ भने अहिले आठौँ केन्द्रिय महाधिवेशनबाट केन्द्रिय प्रतिनिधि हुनुहुन्छ । उहाँ माओवादी केन्द्रको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट लुम्बिनी प्रदेशको प्रदेश सदस्य तथा प्रेस सेन्टरको केन्द्रिय सदस्य हुनुहुन्छ ।
मेनका चौधरीले २०६२ मा युद्ध पत्रकारिता गर्दा तिन महिना बाँकेको नेपालगन्जमा रहेको जेलको चिसो छिडीमा कस्नुपर्यो । चौधरीले सङ्कटकालमा तत्कालीन राज्य सत्ताबाट हिरासतमै चरम यातना पाउनुभएको थियो ।
उहाँलाई बालिका भनेर अदालतले तिन महिना पछि रिहा गर्यो । रिहा भएलगत्तै उहाँ फेरी पार्टी सम्पर्कमा गएर निरन्तर पार्टीको साथमा रहि जनसमुदायको पक्षमा जन पत्रकारिता गर्दै अनवरत अगाडि बढ्नुभयो ।
उहाँ बहादुरलाई जेलले बौद्धिक बनाउँछ भन्ने मान्यतामा अडिग रहँदै हातमा हतकडी खुट्टामा नेल, क्रान्तिकारीहरूका निम्ति जेल भन्ने विचारले जेल जीवन पछि अझै बौद्धिकताले निखारिएर युद्धमै जनसेवाको लागि होमिनुभयो ।
उहाँ हारे हतकडी हातमा, जिते यो सिंगो संसार भन्दै पार्टीले दिएको हरेक मोर्चाको काम जनताको काम भन्दै क्रान्तिमा होमिनुभयो ।
यो त्यसबेलाको प्रसंग हो, जब चौधरी मात्र १२ वर्षकी हुनुहुन्थ्यो । ०५२ सालमा गाउँका ठुलाबडा र पाकाहरू ‘माओवादीले युद्ध थाल्यो रे’ भन्दै बात् मार्थे ।
बस्तीमा एक किसिमको सन्नाटा छाउँथ्यो । गाउँकै केही युवा मृत्यु वा मुक्तिका कुरा गर्न हौसिएका थिए । तर बालापनमै रमाइरहेकी मेनकाका लागि ‘दीर्घकालीन जनयुद्धको बाटोमा लामबद्ध होऔं’ लगायतका माओवादी नाराको भेउ पाउन मुस्किल थियो ।
जब रात पर्थ्यो, मेनका सहितका टोली हातमा रङ्गरोगन बोकेर आफ्नै स्कुलमा नारा लेख्दै भित्तो रङ्गाएर हिँड्ने गर्नुहुन्थ्यो । मेनका माक्सवाद, लेनिनवाद, माओवादका नारा पेन्टिङ गर्नुहुन्थ्यो । नारा लेखे पनि उहाँलाई त्यसको भाव थाहा थिएन ।
लहलहैको रोमाञ्चक यात्रा थियो त्यो । उत्पीडित र पिछडिएका वर्गको मुक्ति र शोषकवर्गहरूको विरुद्धमा आवाज उठाएको माओवादीले थारू समुदायमा रातारात प्रभाव छाड्यो ।
विशेषतः थारू महिलामाथी शोषण दमन हुँदा उनीहरूको मुक्त जीवनको सपनाले उद्धेलित हुनुभयो मेनका । उहाँ लड्ने विचारले लयस भएर क्रान्तिको नारा लेख्नुहुन्थ्यो ।
आफूले लेखेका नाराले पूरा गाउँ तरंगित हुन थालेपछि मेनका सोचमग्न हुन थाल्नुभयो । आखिर के हो यो जनयुद्ध, को हुन् माओवादी ? हजुर बुवा मुखिया सँग वर्घर सँग सोध्ने गर्नुहुन्थ्यो ।
माओवादी भन्ने प्रश्न उहाँको मानसपटलमा घुम्न थाल्यो । यही प्रश्नको उत्तर खोज्दै जाँदा उहाँको माओवादी यात्रा विधिवत् रूपमा शुरु भयो; विद्यार्थी नेतृ र कलाकारका रूपमा ।
गोरो वर्ण, छरितो जिउडाल, छिनेको कम्मर, डिम्पलवाला गाला अनि मोहनी मुस्कानकी धनी मेनका चौधरी कलाकारको पहिरनमा देखिनुहुन्थ्यो ।
उहाँका लागि माओवादी जनयुद्ध अब ‘हारे हतकडी जिते यो सिंगो संसार’ को भीष्म प्रतिज्ञा भयो । प्रहरी सँगको लुकामारी दिनचर्या बन्यो ।
प्रहरीको धरपकडका कारण माओवादी नेता कार्यकर्ता मारिने, पक्राउ पर्ने र पलायन हुने परिस्थिति एकातिर थियो भने अर्कोतिर दमन विरुद्ध प्रतिरोधको मनोविज्ञान पनि पैदा भएको थियो । यसै मेसोमा बाध्यतामा नै सही, मेनकाले गाउँका आफूभन्दा पाकालाई राजनीतिक कुरा अथ्र्याउनु थाल्नुभयो ।
मेनका आफ्नो टोली सहित आफ्ना छिमेकी र आफन्तकोमा जानुहुन्थ्यो । सुराकीको डरले बाहिर जान डर थियो । उहाँले तत्कालीन ‘सामन्ती सत्ताको विरोध, सर्वहाराको उन्मुक्ति' लगायतका चोटिला मुद्धाले आफन्त र छिमेकीको मन जित्न थाल्नुभयो ।
नेकपा माओवादीले आयोजना गर्ने सांस्कृतिक कार्यक्रमले उत्पीडित समुदायलाई थप आकर्षित बनाउन थाल्यो ।
‘जुरुक्कै बनाउने गीत संगीत र जनताको दैनिक जीवनसँग जोडिएका मुद्धाकै कारण जनयुद्धका पक्षमा जनलहर उर्लिँदै गयो,’ मेनका सम्झनुहुन्छ ।
आफन्त र छिमेकीमा मात्र सीमित नभएर चौधरी लगायत अन्य विद्यार्थीहरूको वैचारिक राजनीतिक गतिविधि तिव्रताका साथ फैलिँदो थियो ।
उहाँ अग्रगामी छलाङ अभियानका लागि जुम्ला, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, अछाम, सुर्खेत लगायत पहाडी भूगोलमा रेडियो डोकोमा राखेर माओवादी पार्टीको काम गर्न पनि पुग्नुभयो ।
उहाँले सेनाको घेराबन्दीमा कयौं लडाइ लड्नु पर्यो र धेरै युद्ध मोर्चामा भाग लिनुभयो । तर हतास हुनुभएन । सँगैको साथी युद्धमा शहीद भएको सम्झनामा कहिलेकाँही एक्कासि आँसु आउने गरेको उहाँ बताउनुहुन्छ ।
खाउँखाउँ लाउँलाउँ भन्ने उमेरमा घर छाडेर युद्धमा होमिन जाँदा आमाले नजा छोरी, तिमी बच्चै छौ छोरी भनेर रोएको सम्झदै उहाँ भन्नुहुन्छ, "राज्यको निगरानीमा रहेको माओवादी पार्टीको संगठन बनाउँदै हिँडेको देख्दा मेरो घर परिवार त्रसित थिए ।"
युद्धको राप र तापका कारण निखारिनु भएकी उहाँ छोटो अवधि मै प्रदेश तहकी नेत्री हुनुभयो । ०६२ सालमा माओवादीको थारूवान प्रदेश सदस्य हुनुभयो । ६२/६३ को जनआन्दोलन पश्चात माओवादी शान्ति प्रक्रियामा आयो, मेनकाको राजनीतिक वेग पनि तुलनात्मक रूपमा सुस्तायो । प्रदेशबाट केन्द्रीय प्रतिनिधि सदस्य पुग्न नै २२ वर्ष लाग्यो ।
माओवादीको वैचारिक राजनीतिले मेनका चौधरीलाई राष्ट्रिय राजनीतिमा स्थापित गरेको छ । माओवादीका अन्य थारू नेत्री पनि उदाएका छन् ।
तर युद्धमा ज्यानको बाजी थापेर माओवादीमा होमिएका थारू महिलाले भने नेतृत्वमा पुग्ने अवसर नै पाइरहेका छैनन् । राजनीतिका २२ वसन्त पार गरेपछि मेनका चौधरी केन्द्रीय प्रतिनिधि त बन्नुभयो तर यस पटक माओवादीले सानो केन्द्रिय कमिटी बनाउँदा उहाँलाई ठाउँ दिएन ।
मेनकाको शैक्षिक योग्यताको कुरा गर्ने हो भने महेन्द्र बहुमुखी क्यापस नेपालगन्जमा राजनैतिक सङ्कायमा मास्टर डिग्री गर्दै हुनुहुन्छ ।
माओवादी जनयुद्ध र क्रान्तिको बाल नेता, पत्रकार मेनका
अब जनताको भौतिक र नीतिगत रुपमा सेवा गर्न मेनकाको यात्रा मेयरतर्फ सोझिएको छ । सार्वजनिक ओहदामा प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य, नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश समिति सदस्य, लुम्बिनी प्रदेशको सञ्चारिका समुहको महासचिव, नेपाल पत्रकार महासंघ बर्दियाको उपाध्यक्ष, जनयुद्धको डोको एफएमको भेरी कर्णाली प्रसारण केन्द्रको पहिलो युद्ध पत्रकार, जनदिशा राष्ट्रिय दैनिक, जनादेश पत्रिकाको पत्रकार, राष्ट्रिय समाचार समितिको पत्रकारको रूपमा काम गरेर अनुभव संगाल्नुभएकी मेनका स्थानीय स्तरमा लोकप्रिय हुनुहुन्छ ।
विपक्षी सँग सहकार्य गर्न सक्नु र थारू समुदायमा अब्बल महिला नेतृ, महिला पत्रकार सबै सँग सहज घुल्न सक्ने उहाँको खुबी प्रशंसा लायक छ ।
मेनकाको विपरीत विचार सँग राजनीतिक रूपमा संघर्ष गर्ने तर व्यवहारिक रूपमा सहकार्य गर्ने स्वभावका कारण व्यवहारिक र परिपक्व नेत्रीका रूपमा स्थापित हुनुहुन्छ ।
बारबर्दियाका महिलाको आवाज बनेर, बाटो घाटो, विकासका लागि उहाँले सारथिको भूमिका निर्वाह गर्नुभएको छ । आवाजविहिनको पक्षमा आवाज उठाउने कलम चलाउने काम गर्नुभएको छ ।
सार्वजनिक भवन निर्माण, बाटोघाटोको विकास, पुलपुलेसो निर्माणका लागि बजेट माग गर्दै पिछडिएका वर्ग तथा महिलाहरूका लागि निःशुल्क शिक्षाको लागि मेनकाले निरन्तर आवाज उठाइरहनुभएको छ ।
मेनकाले अभिभावक विहीन बालबालिकाका लागि संरक्षण स्थल स्थापना गर्न, पिछडिएका वर्ग जातजातिलाई विभिन्न किसिमका आवश्यक कानुन र राजनीतिक अधिकारको माग गर्दै राज्यलाई निरन्तर खबरदारी गर्दै आउनुभएको छ ।
उहाँले महिलाहरूको हक अधिकारको आवाज उठाउँदै तालिमहरू समेत दिदै कोभिड नियन्त्रणमा सहयोग गर्दै विभिन्न रूपमा धेरैको मन जित्न सफल हुनुभएको छ ।
पदीय हिसाबले पार्टीको नेता तथा पत्रकार भए पनि उहाँलाई धेरैले माया गरेर दिदीबहिनी र छोरी भन्ने गर्छन् ।
"तिमी मेयर बन हामी सहयोग गर्छौँ भनेर जनताले भनेका छन", मेनका भन्नुहुन्छ । त्यसैले उहाँ जनताको चाहना र जनआकाङ्क्षालाई शिरोधार्य गर्दै बारबर्दिया नगरपालिकाको नगरप्रमुख (मेयर) बन्ने अठोटमा गाउँ नगर घरघर गएर सङ्गठनलाई मजबुत गराउने अभियानमा हुनुहुन्छ ।
संगठनको शुद्धिकरण अभियानमा लागेर ठाँउ ठाँउमा पार्टी सदस्य सक्रिय सदस्य, जवस मोर्चा, बनाउँदै गाँउ-नगर, घर-घर जाँउ भन्दै सेल कमीटि, टोल कमीटि, वडा कमीटि, नगरकमिटी बनाउँदै रातदिन भेला गोष्ठी बैठक प्रशिक्षण छलफलमा ब्यस्त हुनुहुन्छ ।
उहाँको दैनिकी यसै गरी बितेको छ उहाँ मेयर लड्ने तयारीमा जुट्नुभएको छ । उहाँ भन्नुहुन्छ, "पार्टीले स्थानीय तहमा मेयर (नगरप्रमुख)को टिकट दिएमा बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्वर ११ फच्कहवाबाट उम्मेद्धारी दिन्छु ।" उहाँको मतदाता नामावलीमा नाम फच्कहवाबाट रहेको छ भने उहाँ मेयर लड्ने तयारीमा जुट्नुभएको छ ।
लेखक दिनेश ठाकुर युवा पत्रकार हुनुहुन्छ । उहाँ बर्दिया जिल्लाबाट पत्रकारिता गर्नुहुन्छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया दिनुपरेमा हाम्रो आधिकारिक पत्राचार ठेगाना [email protected] मा सम्पर्क गर्न सक्नुहुन्छ ।
नोट - यस पत्रीकाको बिचार सेक्सनमा प्रकाशित सामाग्री लेखकका निजि अभिव्यक्ति/बिचार हुन ।