बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको खसी बोका वैध भएको भन्दै कागजात रहेको दाबी गरिएको छ । गेरुवा गाउँपालिका वडा नम्बर ३ को कथित सिफारिस पत्र, भेटनरीको प्रमाण पत्र तथा कर तिरेको रसिद हुँदा पनि प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ ।
सोमबार, वैशाख ५, २०७९ गते राती करिब ७:२० बजे खसी बोका सहित सिन्धुपाल्चोकका राजकुमार बानियाँलाई बर्दिया प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ६ मा चेकजाँच गर्ने क्रममा ६ लाख १७ हजार बराबरको खसी बोका र गाडी सहित बानियाँलाई पक्राउ गरेको थियो ।
भारतबाट भन्सार छलेर चोरी पैठारी गर्दै ग ३ च ४७५७ नम्बरको पिकअप गाडीमा खसीबोका ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको बर्दिया प्रहरीले प्रेस रिलिज मार्फत जानकारी दिएको थियो ।
बानियाँलाई बरामद गरिएको खसीबोका र पिकअप गाडी सहित आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको छ ।
तिनै बानियाँले नेपाल कागजसँग सम्पर्क गर्दै वैध तरिकाले खसी बोका काठमाडौँ बिक्री गर्न लाँदा आफूलाई पक्राउ गरिएको दाबी गर्नुभयो । उहाँले दाबी गर्दै भन्नुभयो, "मिडियामा आएजसरी अवैध खसीबोका मैले भारतबाट ल्याएको होइन, मेरो कुरो पनि पत्रकारहरूले सुनिदिनु पर्यो र लेखिदिनु पर्यो । मैले बर्दियाको गेरुवा गाउँपालिका वडा नं ३ का स्थानीय सँग खसीबोका किनेर ल्याएको हो, म सँग ३ नम्बर वडा कार्यालयको सिफारिस पत्र, कर तिरेको रसिद छ, भेटनरीले दिएको कागज छ । यो कसरी अवैध भयो ? मलाई प्रहरीले अनावश्यक दुःख दियो ।"
यो पनि
भारतबाट नेपाल ल्याउँदै गरेको खसीबोका सहित एक जना बर्दिया प्रहरीद्वारा पक्राउ
यता प्रहरी स्रोतले भन्यो, "यदि वैध भएको भए वा कागजात भएको भए प्रहरीले अनावश्यक रुपमा किन पक्राउ गर्थ्यो ? पक्राउ गर्ने बेला नभएको कागजात कसरी रातारात आयो, त्यतातिर तपाइहरू सोच्न सक्नुहुन्न ? प्रहरीले जनतालाई अनावश्यक दुःख दिदैँन । हामीले पक्राउ गर्ने बेला सम्म अवैध भएको वस्तुलाई रातारात वैध बनाउन कागजात कहाँबाट आयो ?"
प्रहरी स्रोतका अनुसार राती पक्राउ गर्दा बानियाँ सँग कागजात थिएन ।
यता बानियाँको दाबी अर्कै छ । बानियाँको दाबी अनुसार पिकअप गाडीमा खसीबोका राखिएकाले ठाउँ नभएकोले कागजपत्र लिएर अर्को सवारीसाधनमा पछाडि पछाडि उहाँको साथी आउँदै थिए । त्यसै बेला प्रहरीको चेकिङ पर्यो र प्रहरीलाई केही समय कुर्नुस् कागजपत्र मगाउँदै छु भन्दा भन्दै प्रहरीले पक्राउ गरेको बानियाँको दाबी छ ।
बानियाँको दाबीमा त्यति पत्याउन सक्ने आधार नदेखिने नाम नखोल्ने शर्तमा बर्दियाका एक नेता बताउनुहुन्छ । ति नेता भन्नुहुन्छ, "उनले कागजपत्र सँगै लिएर किन हिँडेनन ? गाडीमा कागजपत्र राख्ने ठाउँ पनि थिएन ? निर्वाचन नजिकिएसँगै प्रहरीले ठाउँ ठाउँमा सुरक्षा गस्ती बढाएको छ । खसी बोकाको ब्यापार गर्ने ब्यक्तिले हरेक नाकामा कागज पत्र देखाएर हिँड्नु पर्छ । त्यसैले उनीसँग कागजपत्र नभएकैले प्रहरीले पक्राउ गर्यो । अब अहिले प्रहरीलाई दोष दिनु ठीक होइन ।"
यस विषयमा हामीले गेरुवा गाउँपालिका ३ नम्बर वडा कार्यालयकी वडा सचिव अमृता बजगाइँ सँग फोन सम्पर्क गरेका थियौँ । उहाँले यस विषयमा विस्तारमा बुझेर पुन सम्पर्क गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, "सिफारिस गरिएको र कर तिरेको बारे बिस्तारमा बुझेर म एक छिनमा म फोन गर्छु ।"
(अपडेट) उहाँले समाचार प्रकाशन भएको केही समयपछि फोन संपर्क गर्दै वडा कार्यालयबाट सिफारिस गरिएको र बानियाँले वडा कार्यालयमा दिएको निबेदन समेत कार्यालयमा रहेको बताउनुभयो । उहाँले बैशाख ५ गते वडाले सिफारिस गरेको बताउनुभयो ।