काठमाडौँ । सत्तारुढ गठबन्धनको बुधबार बसेको बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानरपालिकाको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले ६ महानगर र ११ उपमहानगरको भागबन्डा टुंगो लगाएको हो । गठबन्धन दलहरुको स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उप महानगरपालिकाको मेयर र उपमेयरमा सहमति भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति भएको हो ।
सहमति अनुसार सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पाउनेछ । नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर पाउनेछ ।
नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाउनेछ भने जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर र विराटनगरको उपमेयर पाउनेछ ।
उपमहानगरपालिकातर्फ नेपाली कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद पाउनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर पद पाउनेछ ।
नेकपा माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद पाउँछ भने धरान र धनगढीको उपमेयर पाउनेछ। जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगन्जको उपमेयर पाउनेछ ।