बर्दिया । नागरिक समाज बर्दियाले निर्वाचन आचारसहिंताको पालना आफूले पनि गर्ने र अरुलाई पनि गराउने भन्दै प्रतिवद्धता जाहेर गरेको छ ।
आज बर्दियाको गुलरिया नगरपालिकामा भएको अन्तरक्रिया कार्यक्रममा उपस्थित नागरिक समाजका अगुवाहरूले आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भरपर्दो र विश्वसनीय बनाउन निर्वाचन आयोगले जारी गरेको आचारसहिंतालाई पूर्ण पालना गर्न र गराउनको लागि प्रतिबद्धता जनाएका हुन ।
निर्वाचनको प्रचार प्रसार गर्ने बेला, मतदान गर्ने बेला र मतगणना गर्ने बेला बढी धाँधली हुन सक्ने भन्दै नागरिक समाजका अगुवाहरूले सक्रियताका साथ निष्पक्ष र स्वतन्त्रता पूर्वक आ–आफ्नो ठाउँबाट निर्वाचन आचारसहिंताको पालना गर्न र गराउन लागिपर्ने भन्दै प्रतिबद्धता जाहेर गरेका छन ।
कार्यक्रममा सहभागि अगुवाहरूले आचारसहिंता विपरीत क्रियाकलाप गरेको पाइएमा जोकोही भए पनि कानुनको दायरमा ल्याउन निर्वाचन आयोगलाई आग्रह गरेका छन ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले सामाजिक सञ्जाल मार्फत व्यक्तिगत आक्षेप लगाएर प्रचार प्रसार भइरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले पत्रपत्रिका, अनलाई, रेडियो, टिभी लगायत सबै मिडियाका पत्रकार तथा सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसहिंताको पालना गर्नेगराउने दिशा तर्फ कलम चलाउन आग्रह गर्नु भएको छ ।
नेपाल बार एशोसिएसन बर्दियाका अध्यक्ष काशीराम थारूले निर्वाचन आचारसहिंता बारले पनि पालना गर्ने र अरुलाई पनि गराउने भन्दै आचारसहिंता प्रति प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत सूचना र मनावअधिकार अनुसन्धान केन्द्रको आयोजनामा भएको कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक रबिन्द्र ज्ञवाली र नागरिक समाजका अगुवा देवकमल पौडेलले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका कार्यक्रम अधिकृत प्रताप चौधरीले गर्नु भएको थियो ।