काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोडमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड्र डकुमेन्ट’ (QR Scan, Pay Fine & Withdraw Document)सुविधाको थालनी गरेको हो ।
कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो ।
उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताउनुभयो ।
उहाँले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको उल्लेख गर्नुभयो ।
जोशीले ट्राफिक नियम उल्लङ्घन गरे उपर सेवाग्राहीहरुले आफ्नो डिजिटल वालेट वा मोवाईल बैङकिङ एप्लिकेसन मार्फत मनिटरको स्क्रिनमा देखिएको क्यू आर कोड स्क्यान गरी तोकिएको जरिवाना रकम तिरी सकेपछि तुरून्तै आफ्नो कागजपत्र लिन सकिने बताउनुभयो ।
कसरी लिने त यो सेवा ?
यो सेवा सेवाग्राहीले ट्राफिक कार्यालयको कोठा नं. ५ र ६ शाखाको काउन्टरमा राखिएका मनिटरमा ट्राफिक भायोलेशन रेर्कड सिस्टम (TVRS) बाट क्यूआर कोड जेनेरेट (generate) गरि मनिटरमा डिसप्ले (display) गरिन्छ र उक्त क्यूआर कोड डिजिटल वालेट वा मोवाईल बैङकिङ एप्लिकेसन मार्फत स्क्यान गरेर ट्राफिक जरिवाना रकम भुक्तानी पश्चात तत्कालै आफ्नो कागजपत्र लिन सक्नेछन् ।
यो सेवा हाललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा लागू गरिएको छ भने आगामी दिनमा मातहतका ट्राफिक कार्यालयमा पनि विस्तार गरिने ट्राफिक कार्यालयले जनाएको छ ।
यस अघि नै ट्राफिक नियम उलङ्घन गरे बापत तिर्नुपर्ने जरिवाना रकम अनलाईन मार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू भईसकेको र त्यस प्रणालीलाई थप समयानुकुल र प्रभावकारी बनाउन परिष्कृत गरी यो क्यूआर स्क्यान गरी तिर्न सकिने व्यवस्था शुरू गरिएको हो ।
कार्यक्रममा ट्राफिक प्रहरीका उच्च अधिकारीहरू तथा कुमारी बैङ्कका पदाधिकारीहरूको उपस्थिति थियो ।