बाँके (नेपालगन्ज) । मुखमा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा १३ ग्राम लागूऔषध 'खैरो हेरोइन' (ब्राउन सुगर) सहित नेपालगन्जबाट एक जना युवक पक्राउ परेका छन ।
आइतबार, वैशाख १८, २०७९ गते आज दिउसो १ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं- १५ जमुनाहबाट १३ ग्राम लागूऔषध 'खैरो हेरोइन' (ब्राउन सुगर) सहित एक जनालाई ईलाका प्रहरी कार्यालय जमुनाहले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं- १६ जैसपुर बस्ने २३ वर्षीय साहबुद्धिन अन्सारी रहेका छन । अन्सारीले भारतको रुपैडियाबाट ९ वटा कालो पुडियामा मुखभित्र राखेर १३ ग्राम लागूऔषध 'खैरो हेरोइन' (ब्राउन सुगर) नेपाल भित्र्याउँदै गर्दा बाँके प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट प्रहरी बरिष्ठ नायव निरीक्षक मिन बहादुर बिष्ट र लागूऔषध नियन्त्रण ब्युरो बाँकेका प्रहरी नायब निरीक्षक सन्जित केसीको संयुक्त टोलीले चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको बाँके प्रहरीले जानकारी दिएको छ ।
अन्सारीले नियमित सुरक्षा चेकिङ्ग हुने ठाउँँ भन्दा करिब ५०० मिटर दक्षिण पश्चिमबाट चोरी बाटो प्रयोग गरेर लागूऔषध नेपाल भित्र्याउन खोजेका थिए । साइकलमा सवार उनलाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ ।
आसन्न स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउन बाँके प्रहरीले सुरक्षा गस्ती बढाएको छ ।