काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) को बिदाइ गरेको छ । सुरक्षा अङ्गमा ३० वर्षे सेवा अवधिका कारण आज राति १२ बजेदेखि अनिवार्य अवकाश लिन लाग्नुभएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीलाई आज बिदाइ गरिएको हो ।
बिदाइ समारोहमा गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकको जीवनरक्षामा हरतरहले खटिने प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यस सङ्गठनको सफल नेतृत्व गर्नुभएकामा दुवै महानिरीक्षकलाई धन्यवाद तथा बधाई दिनुभयो ।
त्यस्तै सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले दुवै सङ्गठनका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय (एआइजी) सिंह र अर्याललाई आइजिपीमा पदोन्नति गर्ने निर्णय गरेको खानेपानीमन्त्री उमाकान्त चौधरीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को आजको बैठकले डेढ वर्ष सिनियर एआईजीपी विश्वराज पोखरेल र १० महिना सिनियर सकुलबहादुर थापालाई पन्छाएर १ महिना अघि मात्रै एआइजीपी बन्नुभएका सिंहलाई प्रहरीको महानिरीक्षकमा बढुवा गरेको हो ।
यता कनिष्ठलाई आईजीपीमा बढुवा गरेको भन्दै सिनियर एआइजीपीद्वय पोखरेल र थापा सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेको बुझिएको छ ।
प्रहरी नियमावली २०७१ को नियम ४१ मा ‘प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ,’ भनिएको छ ।
त्यस्तै नियवावलीको नियम ३० मा बढुवा हुने आधार जेष्ठता, कार्यसम्पादन मुल्यांकन, तालिम, शैक्षिक योग्यता, भौगोलिक क्षेत्रको अनुभव वापतका अंकमा सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारको बढुवा हुने,’ भनिएको छ ।
धीरजप्रताप सिंहको जन्म २०२४ सालमा दैलेखको विजौरामा भएको हो ।
कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर गर्नुभएका सिंह निरीक्षकका लागि प्रतिष्पर्धा गर्दा वैकल्पिक सूचीमा पर्नुभएको थियो । २०४९ चैतमा नियुक्ति पाउनुभएका सिंहले एसपी भएर पर्सा र दाङको नेतृत्व गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छँदा तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा (हालको उपत्यका अपराध अनुसन्धान कार्यालय)को नेतृत्व गर्नुभएको थियो ।
सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) भएपछि मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिसक्नुभएको छ ।
३० वर्षे सेवा अवधि कायमै रहे उहाँले अब एक वर्ष प्रहरी संगठनको महानिरीक्षक (आइजिपी) भएर जिम्मेवारी बहन गर्नुहुनेछ ।