बर्दिया । बर्दियामा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई एक दिने तालिम दिइएको छ । स्थानीय तहको निर्वाचनलाई शान्ति, सुव्यवस्थित र भय रहित बनाउने उद्देश्यले मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ७४२ जनालाई तालिम दिइएको हो ।
तालिम पश्चात मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न निर्देशन दिइएको छ । एक दिने प्रशिक्षण कार्यक्रममा बर्दिया जिल्ला न्यायाधीश लोकजन शाहले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई बधाई दिनुका साथै स्वतन्त्रतापूर्वक, इमान्दारितापूर्वक र सावधानीपूर्वक काम गर्न निर्देशन दिनु भयो ।
साथै निर्वाचनको बेला आई पर्ने समस्या र चुनौतीको बारेमा जानकारी दिँदै सबैलाई सचेत रहन अनुरोध समेत गर्नु भयो ।
त्यसैगरी यस पटको चुनाव सबै राजनीतिक दलहरूले स्वीकार गरेको कारण शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न हुने जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनु भयो ।
त्यसैगरी मतदान र सहायक मतदान अधिकृतहरूले आजबाट कुनै पनि पार्टीको तर्फबाट भोट माग्न नपाउने, कुनै पनि पार्टीका कार्यकर्ताहरूलाई भेटघाट गर्ने नपाउने र यदि त्यो गरेको पाइएमा निर्वाचन कार्यालयमा बोलाएर सोधपुछ गर्ने र दोषी पाइएमा कारबाही गर्ने र उक्त मतदान अधिकृतको ठाउँमा अर्को व्यक्ति खटाउने प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनु भयो ।
त्यसैगरी मतदान अधिकृतहरूलाई मतपत्रमा आफ्नो हस्ताक्षर छ छैन राम्रोसँग ध्यानपूर्वक हेर्न र एउटै प्रकारको आफ्नो हस्ताक्षर गर्न निर्देशन दिनु भयो ।
त्यसैगरी निर्वाचनको बेला मतदान स्थलको पहिलो घेरामा ५ जना प्रहरी जवान, दोश्रो घेरामा सशस्त्र प्रहरी रहने र तेश्रो घेरामा नेपाली सेना रहने ब्यवस्था मिलाएको छ ।
त्यसपछि अन्तिममा तीनै सुरक्षाकर्मीहरूको मोबाइल टोली रहने प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनु भयो । मतदान अधिकृत र सहायक मतदान अधिकृतको रुपमा आधा भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको छ ।