स्थानीय तह निर्वाचन २०७९ का लागि आज राति बाह्र बजे देखि मौन अबधि शुरु हुदै गर्दा बिभिन्न राजनैतिक दलका आ-आफ्ना गठबन्धन र चुनावी तालामेलका बीच आ-आफ्ना अड्कलबाजी र शंका उपशंका बाहिर आएका छन ।
क्षणिक चुनावी लाभका लागि बनेको गठबन्धन भित्रै तालमेलको धरातलीय आधार कमजोर भएकै कारण एकले अर्का प्रति शंका गर्नुलाई अन्यथा लिन सकिदैन । जीवनको लामो समय एउटा बिचार र आस्थालाई अंगाली आएका आम कार्यकर्तालाई चुनावी जोर घटाउको लाभका लागि बाध्यकारी निर्देशन दिनु लोकतन्त्रको परिभाषामा पर्छ पर्दैन भन्ने प्रश्नको जवाफ राजनैतिक शास्त्रीलाई सोध्नु उपयुक्त रहेता पनि पछिल्लो समय मुलुकका मुख्य राजनैतिक दल बीच भएको गठजोड भोलिको स्थानीय सरकार संचालनका लागि असहज गन्तब्य हुनु हुदैन । अन्यथा जनताको सबै भन्दा नजिकको स्थानीय सरकार संचालनमा बाधा पुग्ने छ ।
चुनावी प्रचार प्रसारका लागि बैशाख २७ को राति बाह्र बजे सम्मको सिमा साँगुरो हुँदै जादा देशका बिभिन्न स्थानमा राजनैतिक मुटभेट र आक्रमण बढ्दै गएको छ । यसले आम मतदातालाई ३० गते हुने आम निर्वाचन शान्तिपूर्ण हुने कुरामा शंका थपिन सक्छ । त्यसैले भयरहित वातावरणमा मतदान हुने सुनिश्चितता दिन जिम्मेवार राजनैतिक दल, सरकार, स्थानीय प्रशासन, आम बुद्दिजीवी सरोकारवाला सबै लागि पर्नु आवश्यक छ ।
भयरहित वातावरणमा स्वतन्त्र तवरले नागरिकले आफुले रुचाएको प्रतिनिधिलाई आफ्नो अभिमत राख्न पाउने अबस्थामा मात्र लोकतन्त्रको जग बलियो हुन् सक्छ । यसले स्थापित संघिय लोकतान्त्रिक व्यवस्थालाई थप गतिशील र बलियो बनाउने छ ।
स्थानीय तह निर्वाचनलाई थप मर्यादित र सभ्य बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७८ जारी गरेको छ । जसबाट राजनैतिक दल, सरकार, सबै निकायका प्रहरी प्रशासन, आम नागरिक, संचार जगत, संघ संस्था लगायतलाई सोको पूर्ण पालनाका लागि अपिल गरेको छ । उक्त आचार संहिताको पालना गर्नु सबैको कर्तब्य रहेको छ । आचार संहिताको पालनाले निर्वाचनलाई मर्यादित र सभ्य बनाउने छ । अत: आचारसंहिता बिपरितका कार्य गर्ने जो कोहिलाई कारबाही गर्न निर्वाचन आयोग पछि हट्नु हुँदैन ।
निर्वाचनको मिति नजिकिदै गर्दा मुख्य गरि ठुला राजनैतिक दल र तिनका प्रतिनिधिले आचारसंहिता बिपरित सोझा सिधा मतदातालाई बिभिन्न लोभ र आश्वासन दिएर किन बेच गर्ने गरेको बिगतको प्रवृति दोहराउने आशंका रहेको सन्दर्भमा सबै मतदाता सचेत हुनु आवश्यक छ ।
दलका क्षणिक आश्वासनले भोलिको सन्तति र देशको भविस्य अँध्यारोमा जाने हुनाले त्यस तर्फ सचेत हुनु पर्दछ । अझ यो स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधि जनजीविकासंग सरोकार राख्ने, जनताका दैनिक सरोकारका घर आँगन वरपरका बिकास निर्माण, स्वास्थ्य, शिक्षा, खाने पानी, कृषि लगायत आमसरोकारका बिषयसंग जोडिने भएर पनि बढी महत्वले हेरिने गरेको छ ।
त्यसैले सबै आम मतदाताले आफ्नो भलो र हित गर्न सक्ने स्वच्छ, कुशल, विकास प्रेमी, सर्वप्रिय प्रतिनिधिलाई बहुमतका साथ विजय गराउनु आवश्यक छ । सोका लागि शान्तिपूर्ण निर्वाचनको वातावरण निर्माण गर्नु राज्यको अहम दायित्व रहेको छ ।